पोखरा महानगरको मतगणना सोमबार (भोली) देखी

पोखरा, ३१ बैशाख/पोखरा लेखनाथ महानरपालिकामा मतदान सकिए पछि मतपेटिकालाई मतगणना स्थल नगर विकाश प्रशिक्षण केन्द्र नदिपुरमा राखीएको छ । मत पेटिका आउन समय लागे पछि भोलि सोमबार बिहान मात्रै गणना सुरु हुने निर्वाचन कार्यलय कास्कीका प्रमुख गगांलाल सुबेदीले जानकारी दिए ।

प्रहरीको गाडीमा राखेर ल्याएएका मतपेटिकालाई नगर विकाश प्रशिक्षण केन्द्र नदिपुरमा सुरक्षित रुपमा राखिएको छ । साँझ ५ बजे मतदान सकिएपछि मतपेटिका सिल गरेर निर्वाचन अधिकृतहरुले दलका प्रतिनिधिको रोहबारमा मुचुल्का गरेर प्रहरीको सुरक्षामा ल्याएका थिए ।

मतगणनाका लागि राजनीतिक सहमति जुटाएर भोलि बिहान ७ बजे सर्बदलिय बैठक लगत्तै गणना थालनी उनले बताए । त्यसै गरि कास्कीका अन्य गाउँपालिका मतगणना पनि भोली नै हुने उनले बताए । कास्कीमा करिब ७५ प्रतिशत मत खसेको उनले बताए

कास्कीका स्थानीय तहबाट प्रमुख ५, उपप्रमुख ५, वडाध्यक्ष ७२, वडा सदस्य २ सय ८८ गरी जम्मा ३ सय ७० निर्वाचित हुनेछन् । नगर र गाउँ सभाबाट ११ सदस्य निर्वाचित भएपछि कास्कीका स्थानीय तहमा ३ सय ८१ निर्वाचित प्रतिनिधि रहनेछन् । पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा १ सय ६७ जना निर्वाचित हुने छन् । मेयर, उपमेयर, ३३ वडाध्यक्ष र प्रत्येक वडामा अध्यक्षबाहेक खुला सदस्य २ जना, दलित महिला सदस्य १ जना, महिला सदस्य १ जना निर्वाचित हुँदै छन् । ११ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित हुनेछन् ।

९ वडा रहेको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्यसहित ४७ जना निर्वाचित हुनेछन् । १२ वडा रहेको मादी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ६२ जना निर्वाचित हुँदै छन् । ७ वडा रहेको रुपा गाउँपालिकामा सबै पदमा गरी ३७ जना निर्वाचित हुने छन् ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन् । मतदातामध्ये महिला १ लाख २० हजार २ सय ३० छन् । पुरुष मतदाता १ लाख ४ हजार ५ सय ७६ छन् । पोखरा लेखनाथ महानगरपालिकामा मात्रै १ लाख ६७ हजार मतदाता छन् ।

अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता छन् । रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता छन् ।

कमेन्टहरु
Loading...