पोखरामा खाद्यान्न आपूर्तिलाई सहज बनाइने

पोखरा, १६ चैत/ पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङ (दर्शन लामा) को अध्यक्षतमा बसेको बैठकले खाद्यान्न लगायत आवश्यक दैनिक उपभोग्य बस्तुलाई सहज बनाउने निर्णय गरेको छ ।

वडा नम्बर १० देखि १६ र २० नम्बर वडामा समन्वय गर्ने जिम्मेवारी पाएको उक्त समितिको बैठकले कोरोना भाइसर नियन्त्रण र रोकथामको लागि ती वडामा विदेशबाट आएकाहरुको विवरण संकलन गरी महानगरापालिकामा पठाउने निर्णय पनि गरेको संययोजक लामाले जानकारी दिए ।

उनका अनुसार विदेशबाट आएकाहरुको विवरण संकलन गर्न वडा कार्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, टोल विकास संस्थाको समन्वय र सहयोगमा संकलन गरिने लामाले बताए । लकडाउनको समयमा खाद्यान्न र अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित वडाध्यक्षको नेतृत्वमा वडाका खाद्यान्न स्टोर्सहरु तथा आवश्यक सामग्रीको मौंजादको विवरण संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

पशु, पक्षी पालक किसानलाई दानाको आपूर्ति लगायत समस्याको सूचीकरण गरी समाधान गर्न योजना बनाउने निर्णय भएको समितिका सदस्य स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

लकडाउनको समयमा खाना पकाउने ग्यासको आपूर्तिलाई सहज बनाउन पोखरा उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिको समन्वयमा सहज वितरणको व्यवस्था मिलाइने संयोजक लामाले बताए ।

विषयम परिस्थितिमा गरिब, विपन्न, सिमान्तकृत अशक्त, अपांगता भएका व्यक्तिलाई निशुल्क रुपमा खाद्यान्न उपलब्ध गराउन पनि अवस्था भएमा उनीहरुको यथार्थ विवरण संकलन गर्ने निर्णय भएको लामाले जानकारी दिए ।

वडा नम्बर १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) को संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर १० देखि १६ र वडा नम्बर २० का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ प्रतिनिधि, वडा प्रहरी कार्यालय रामबजार प्रतिनिधि र स्वास्थ्य महाशाखाका हरिलाल आचार्य सदस्य छन् ।

कमेन्टहरु
Loading...