महेन्द्रपुलदेखि अख्तियारचोक पूर्ण सरसफाइ क्षेत्र

पोखरा, १६ मंसिर/पोखराको महेन्द्रपुलदेखि नयाँबजारस्थित अख्तियार चोकसम्म क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा अब सडक छेउका डष्टबीनमा बाहेक जथाभावी फोहोर मैला फालेको पाइए कडा कारबाही हुनेछ ।

जारी पोखरा उपत्यका बृहत सफाइ अभियानको ७९ औं श्रृंखलाअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शनिबार उक्त क्षेत्रमा ‘पूर्ण सरसफाइ क्षेत्र’ लेखिएको ब्यानर पढेर उक्त घोषणा गरेका हुन् । उनले आगामी दिनमा महानगरभित्रका विभिन्न क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गर्दै जाने र जथाभावी फोल्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए ।

उनले कार्यान्वयनका लागि प्रत्येक सय मिटरमा महानगरका मानिस हुने जानकारी दिँदै कारबाही कति गर्ने भन्र्नेबारे सोचिरहेको बताए । महानगर प्रमुख जिसीले भने–‘विकसित मुलुकमा गए हामीहरु चुइँगम खाए पनि खोल खल्तीमा राख्छौ, यहाँ आएपछि जथाभावी फाल्छौं । अब फोहोरको उचित व्यवस्थापनका लागि सबै सचेत हुनु जरुरी छ।’

महानगर वडा ९ को आयोजना तथा एनआईसी एशिया बैंकको सहयोगमा भएको उक्त घोषणा कार्यक्रमसँगै शनिबार महेन्द्रपुलदेखि अख्तियारचोकसम्म सरसफाइ गरिएको थियो । उक्त अभियानमा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।

पोखरा उपत्यका बृहत् सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले अभियानमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिँदै फोहोर मैला उचित व्यवस्थापनका लागि सम्पूर्णलाई सचेत गराउँदै जाने बताए । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले उल्लेख्य जनसहभागिताले यो अभियान उदाहरणीय बनेको बताए । उनले यस अभियानमा प्रहरी प्रशासनको पूर्ण सहयोग रहने आश्वासन दिए ।

पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले सम्पूर्णलाई साथ दिन अनुरोध गर्दै अभियानको यो सुरुवात हो भने ।
साँघुमुख वातावरणमैत्री समूहका अध्यक्ष एवं कन्या क्याम्पस प्राध्यापक संघका अध्यक्ष इन्द्रकमल मानन्धरले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेको कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए । मंसिर २३ गते शनिबार ८० औं हप्ताको सरसफाइ अभियान गणेशमानचोकदेखि सुरु भइ पालिखेचोक हुँदै नदीपुरसम्म हुनेछ ।

कमेन्टहरु
Loading...