पोखरामा अर्को ठाउँमा वर्ड फ्लू, पोखरामा पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध

प्रकाश ढकाल
पोखरा, २२ फागुन /पोखरामा एक साताको अवधी भित्रै पुनः अर्को ठाउँमा वर्डफ्लू देखिएको छ । पोखरा १८ खाल्टेमसिना कै शुभकामना टोलमा वर्डफ्लू देखिएको हो । स्थानीय दिपेन्द्र केसीले पालेको कुखुरामा एच फाइभ एन वन जिवाणु पोजिटिभ पाईएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । अघिल्लो साता मसिना टोलकी मीना परियारको घरमा वर्ड फ्लू देखिएपछि निरन्तर सर्भेका क्रममा शंका लागेर परीक्षणका लागि पठाएकोमा पशु सेवा विभागले शुक्रबार वर्ड फ्लूको घोषणा गरेको थियो ।

‘पहिले देखिएको एरियामा निरन्तर अनुगमन र सर्भे गरिरहेका छौं । त्यही क्रममा शंकास्पद कुखुरालाई परीक्षणका लागि विभागमा पठाएका थियौं, पशु सेवा कार्यालय कास्कीका प्रमुख पुरुषोत्तम त्रिपाठीले भने–पछिल्लो नमुनामा पनि पोजिटिभ देखियो ।’ निरन्तर वर्ड फ्लूको संक्रमण देखिएपछि फागुनभरी पोखरामा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसार पसारमा प्रतिबन्ध लगाईएको छ ।

जिल्ला एभियन ईन्फ्लुएन्जा प्राविधिक समितिको शनिबार बसेको बैठकले फागुन ३० गतेसम्मलाई पोखराको १ देखि १८ नम्बर वडासम्म पंक्षीजन्य आयात निर्यातमा रोक लगाएको हो । कार्यालयले केही समयका लागि पंक्षीको कारोवार नगर्न शनिबार नै सूचना समेत जारी गरिसकेको छ । नयाँ संक्रमित क्षेत्रमा पशु सेवा कार्यालयले पंक्षीजन्य पदार्थ डिस्पोजको काम थालेको छ ।

शनिबार मात्रै ८८ वटा हाँस, ५ सय ७१ वटा ब्रोइलर कुखुरा, ३ सय ५६ वटा स्थानीय कुखुरा, २ सय ५५ वटा अण्डा, १ सय १९ केजी दाना, ६ बोरा सुली र ११ केजी मासु नष्ट गरिएको कार्यालयका पशु चिकित्सक सुरेश कुमार श्रेष्ठले जानकारी दिए । वर्ड फ्लुको इपिसेण्टर दिपेन्द्र केसीको खोरमा रहेका ११ वटा कुखुरा समेत नष्ट गरिएको छ । उनका अनुसार शनिबार पूरै नष्ट गर्न नसकिएकाले आइतबार पनि विहानै देखि काम थालेको छ । क्याम्पस रोड, जागृती मार्गको ग्राभेल सडक, मनकामना मन्दिरदेखि जागृती मार्गको डिल र खाल्टे मसिनाको पिच रोडलाई चार किल्ला मानेर हाल पंक्षीजन्य पदार्थ नष्ट गर्ने काम भैरहेको पशु चिकित्सक ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

‘अघिल्लो पटक नष्ट गर्ने बेला किसानहरुले लुकाएर छिमेकमा सार्ने काम गरेकाले पुनः वर्ड फ्लु भेटिएको हो । खाल्टेमसिना क्षेत्रमा संक्रमण फैलिएको हाम्रो अनुमान छ, उनी भन्छन्–अव नौ दिनसम्म पंक्षी, पंक्षीका अण्डा र मासु आयात निर्यात ठप्प पारेर भएका कुखुरा र हाँसमा निगरानी बढाउँछौं ।’ कास्कीमा बर्ड फ्लू भेटिएको यो आठौं पटक हो । यसअघि पोखराकै लामाचौर र घारीपाटनमा यो रोग देखिएको थियो । सन् २०१३ मा कास्की जिल्लालाई बर्ड फ्लू मुक्त घोषणा गरिएको थियो ।

कुखुरा तथा घरपालुवा पंक्षीहरुमा झोक्राउने, दाना तथा पानी नखानेलगायत बर्डफ्लूको लक्षण देखिएमा तत्काल जिल्ला पशु सेवा कार्यालयमा खबर गर्न सबैसँग आग्रह गरेको छ । सन् २०१० मा झापामा पहिलो पटक बर्ड फ्लू देखिएको थियो भने त्यसपछि पोखरामा पनि विस्तारै यो रोग विस्तार भएको थियो । कास्कीमा हाल ५ सय बढी ब्यवसायीक फार्ममा साढे ३ लाख बढी कुखुरा छन् ।

कमेन्टहरु
Loading...