पोखरा ५ का सम्पूर्ण शैक्षिक संस्थान सेनेटरी प्याडयुक्त घोषणा

पोखरा, १७ मंसिर/ पोखरा ५ का सम्पूर्ण शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा सोमबार उक्त घोषणा गरिएको हो ।

महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीले वडा ५ भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु प्याडयुक्त घोषणा भएको भन्दै कार्यान्वयनमा जोड दिए । उनले देख्दा सानो भए पनि संवेदनशील विषय भएको भन्दै सेनेटरी प्याड व्यवस्थापनमा वडाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

वडादेखि सुरुवात भए पनि महानगरपालिकालाई प्याडयुक्त बनाउन महानगरपालिका प्रतिवद्ध भएको र राम्रो व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने संस्कारको समेत सुरु गर्ने बताए ।

सामाजिक अभियन्ता पत्रकार एवं अधिवक्ता सुष्मा पौडेलले सेनेटरी प्याडयुक्त अभियानका वारेमा सहजिकरण गर्दै प्रतिबद्धता सहित घोषणा गर्न लगाएकी थिइन् । उनले निःशुल्क रुपमा शौचालयमा प्याड व्यवस्थापन गर्न अनुरोध गर्दै सफा शौचालय, खानेपानीको समेत व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

पौडेलको पहलमा कास्की जिल्लालाई नेपालमै पहिलो प्याडयुक्त एसएलसी सेन्टरका रुपमा ५ वर्ष अगाडी नै घोषणा गरिएको भएता पनि निशुल्क प्याड युक्त वडाका रुपमा घोषणा गर्ने वडा ५ पहिलो हो । वडा सदस्य अञ्जु केसीले सामाजिक जागरणको पहल तथा वडाको सहयोगमा वडालाइ प्याडयुक्त घोषणा गरिएको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरिन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी सबैले वडा ५ अबदेखि वडाका सम्पूर्ण विद्यालय सेनेटरी प्याडयुक्त घोषणा भएको व्यवहारमा उतार्न हामी सबै प्रतिवद्ध छौ भनी प्रतिबद्धता जनाएका थिए ।

वाराही माविका प्रअ शिवप्रसाद भण्डारी, विद्यार्थी सृष्टि केसी, समीक्षा पंचकोशी टोल सुधार समितिका अध्यक्ष मैया अधिकारी, वडासचिव ईश्वरी प्रसाद पोख्रेलले बोलेका थिए । वडामा वाराही मावि, धर्मस्थली आधारभूत विद्यालय, शान्ति निकेतन बोर्डिङ स्कुल, समता शिक्षा निकेतन, हिलसाइड बेर्डिङ स्कुल, एकता सेकेन्डरी स्कुल, वीरेन्द्र मेमोरियल बोर्डिङ स्कुल, लिटिल वेल्स विद्यालय छन् ।

कमेन्टहरु
Loading...