प्रदेश प्रमुख र अन्य मन्त्रालय राख्नका लागि पोखरामा मर्मत र सरसफाइ सुरु

पोखरा, ६ माघ /पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेश प्रमुखको कार्यालयको तयारी गरिएको क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिनु भयो ।

त्यस्तै प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाई शुरु भएको छ । भौतिक पूर्वाधार निर्माण, कार्यालयहरु मर्मत र विस्तारका लागि १७ करोड ५० लाख रुपैयाँ लाग्ने प्रस्ताव अनुमान छ । क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनले प्रदेश प्रमुख, प्रदेश सभा, मुख्यमन्त्रीको कार्यालय, सचिवालय र निवासका लागि विभिन्न स्थानमा सिफारीस गरेपनि तालुकी मन्त्रालयले अपेक्षकृत रुपमा सहयोग नगरेको बुझीएको छ ।

प्रदेश नम्बर ४ को प्रदेश प्रमुखको कार्यालय
प्रदेश नम्बर ४ को प्रदेश प्रमुखको कार्यालय

मुलुक संघिय संरचनामा गएपनि केन्द्र सरकार निती र दृष्टीकोण फराकीलो हुन नसक्दा प्रदेश तहमा काम गर्ने अझैपनि सहज नभएको क्षेत्रीय प्रशासक अर्यालको भनाई छ । अन्य स्थानमा प्रदेश राजधानीको विषयलाई लिएर तनाब बढिरहँदा पोखरामा शान्त भएका कारण ब्यवस्थित तबरबाट ब्यवस्थापन गर्न सहज भएको अर्यालले बताउनु भयो । ब्यवस्थापनको पक्षलाई हेर्दा प्रदेश मुख्यमन्त्रीका लागि महानगरपालिकाको अतिथीगृह तय भएको छ ।

क्षेत्रीय प्रशासन र अध्यागमनको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र सचिवालय रहने प्रमुख जिल्ला अधिरकारी तारानाथ अधिकारीले बताउनुभयो । क्षेत्रीय प्रशासकको आवसमा प्रदेश प्रमुखको निवास राखिने भएको छ ।

त्यसैगरी अन्य १२ मन्त्रालयका लागि क्षेत्रीय शिक्षा, क्षेत्रीय सडक, क्षेत्रीय कृषि, जिल्ला कृषि, क्षेत्रीय सिंचाई, क्षेत्रीय स्वास्थ्य, खानेपानी तथा ढलनिकास विभाग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय, क्षेत्रीय हुलाक, शहरी विकास भवन डिभिजनल कार्यलय रहने छन ।

प्रदेशसभाका ३६ सांसद रहेको ४ नम्बर प्रदेशमा समानुपातिकमा २४ सांसद चयन भएका छन् । प्रदेश संसद् भवनमा प्रत्यक्षका ३६, समानुपातिकका २४ गरी ६० सांसदसहित पत्रकार, पर्यवेक्षक, विशिष्ट व्यक्ति गरी कम्तिमा डेढ सय जना क्षमताको सभाहलको तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...