निगरानी समुहलाई क्षमता अभिवृद्धि तालिम

स्याङ्जा, १० फागुन /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश पोखराद्वारा फेदिखोला गाउँपालिकामा मानवअधिकार निगरानी समुहका सदस्य तथा सरोकारवालाहरुका लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको दुई दिने तालिम सम्पन्न भएको छ ।

तालिमको समापनमा बोल्दै फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले शिक्षा स्वास्थ्य र खाद्य लगायतका अधिकार प्रत्याभूतका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताइन् । उनले आफुहरु मानवअधिकारको सवालमा इन्सेकसंग सदैव साझेदारी र सहकार्य गरेर अगाडी बढ्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यलयका निर्देशक दिपकजंगध्वज कार्कीले मानवअधिकार मैत्री समाज निर्माणमा तालिमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

फेदिखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छत्रवहादुर अधिकारीले देशले राजनीतिक अधिकार प्राप्त गरेसंगै अव सुशासन र मानवअधिकार मैत्री वातावरणको आवश्यक रहेको बताउदै उनले मानवअधिकार निगरानी समुहसंग सहकार्यगर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानवअधिकार निगरानी समुहले सबै क्षेत्रसंग सहकार्य गर्दै गाउंपालिकालाई मानवअधिकार मैत्री बनाउन लाग्नूपर्ने कुरामा जोड दिए । समापन कार्यक्रममा बोल्दै सहभागी भिम बिक र गंगा खत्रीले तालिम अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सिकेका कुराहरुलाई व्यबहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानवअधिकार निगरानी समुहका संयोजक लेखनाथ पराजुलीको सभापतित्व सम्पन्न तालिममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यलयका निर्देशक दिपकजंगध्वज कार्कीे,अधिवक्ता गिरधारी सुवेदी , इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा , फेदिखोला गाउँपालिका प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारी र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानवअधिकार, नेपालको संबिधान , मौलिक हक न्यायिक समितिको काम कर्तव्य र अधिकार,जनवकालत सगैं शिक्षा , स्वास्थ्य , खाद्य अधिकार सम्बन्धी विभिन्न विषयहरुमा सहजिकरण गरेका थिए ।

कमेन्टहरु
Loading...