पोखराको बाह्य हवाई सम्पर्कको लागि सहयोग गर्ने भारतीय राजदूत- पुरी

पोखरा, ७ जेठ । नेपालका लागि भारतीय राजदूत मंजिवसिँह पुरीले पोखराबाट भारतका विभिन्न सहरसँगको हवाई सम्पर्क बिस्तारका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ ।

‘ यहाँ ( पोखरा) बाट भारतका विभिन्न सहरसँगको सीधा हवाई सम्पर्कको लागि के गर्नुपर्छ,मलाई थाहा छैन, तर म आफ्नोतर्फबाट यसका लागि सहयोग गर्न तयार छु’, पोखरा उद्योग वाणिज्य संघले आइतबार उहाँको सम्मानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत पुरीले भन्नुभयो,‘यसका लागि नेपाल सरकारले नै प्रयत्न गर्न जरुरी छ ।’

पछिल्ला दिनहरुमा भारतका विभिन्न सहरहरुबीच क्षेत्रीय स्तरमा कयौँ हवाई मार्गहरु खुलेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालको पर्यटन र व्यवसायिक विकासको लागि देशका विभिन्न सहर तथा अन्तर्राष्ट्रिय स्तरमा सीधा सडक तथा हवाई सम्पर्क आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम तथा  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भारतका विभिन्न सहरसँग सीधा हवाई सम्बन्धको लागि आग्रह गर्नु भएपछि राजदूत पुरीले सहयोगको आश्वासन दिनुभएको हो ।

उद्योगी÷व्यवसायीहरुले  पोखराबाट भारतका विभिन्न सहरसँग सिधा हवाई सम्पर्कको लागि माग गर्दै आए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । केही वर्षअघि बुद्ध एयरले पोखराबाट भारतको लखनउ उडान भर्ने घोषणा गरे पनि ‘प्राविधिक’ कारण देखाउँदै सो उडान स्थगित भएको थियो ।

नेपाल आउने  अन्तर्राष्ट्रिय उडानहरुको लागि बाराको सिमरा क्षेत्रमाथिको आकास मात्र प्रयोग हुँदै आएको छ ।नेपालबाट बाहिरिँदा भने अन्य क्षेत्रको आकास पनि प्रयोग गर्न सकिन्छ । भैरहवा वा नेपालगञ्जमाथिको आकास हुँदै उडान भर्ने अनुमति पाए मात्र पोखराबाट भारतका विभिन्न सहरहरुमा उडान भर्नको लागि सहज हुने उडान कम्पनीहरुले बताउँदै आएका छन् ।

कार्यक्रममा बोल्दै राजदूत पुरीले पर्यटन प्रवद्र्धनको लागि नेपालको पर्यटनको ‘ब्राण्डिङ’ गर्न समेत व्यवसायीहरुलाई सुझाउनुभयो । भारतले ‘अतुलनीय भारत’भन्ने ब्राण्डका कारण पर्यटन प्रवद्र्धन गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पर्यटनको लागि भारत विश्वकै ठूलो बजार भएको उल्लेख गर्नुभयो । भारत नेपालको विकास लगायतका हरेक क्षेत्रमा सघाउन तयार रहेको  तर ठूला परियोजना निर्माणको लागि नेपाल सरकारले नै तदारुकता देखाउनु पर्ने उहाँको भनाई थियो । ‘हाम्रो( भारत)को तर्फबाटभन्दा पनि भारतको अर्थतन्त्रबाट नेपालले फाइदा लिनुपर्छ ।’–कार्यक्रममा उहाँले सुझाव समेत दिनुभयो ।

नेपाल र भारतबीच सामाजिक र आर्थिक रुपले नै गहिरो सम्बन्ध रहेको चर्चा गर्दै उहाँले ७५ हजार अवकाशप्राप्त भारतीय  सेनाहरुका कारण पनि यो सम्बन्ध विशिष्ट खालको रहेको जिकिर समेत गर्नुभयो ।  उहाँले पोखरा नेपालकै सुन्दर र महत्वपूर्ण ठाउँ भएको बताउँदै यसको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपाल–भारत–भुटान र बंगलादेशबीच हुने पारबहन सम्झौतापछि नेपाली सवारी साधनलाई बिना रोकतोक भारत प्रवेशको लागि सहज हुने दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरा–सिद्धार्थ राजमार्ग, सोल्जर बोर्ड हाइस्कूल ( हालको अमरसिँह उच्च मावि ) र सोल्जरबोर्ड हाइस्कूल ( हालको गण्डकी अस्पताल) निर्माणमा भारतीय सहयोगको स्मरण गर्दै पोखरामा भारतीय सहयोगमा छिट्टै सुविधा सम्पन्न स्टेडियम निर्माण हुने आशा व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघले पोखराको विकासमा खेलेको भूमिकाको चर्चा गर्दै अध्यक्ष पाखिलेले पोखराको निजी क्षेत्र भारतसँग मिलेर काम गर्न तयार रहेको वचनवद्धना पनि व्यक्त गर्नुभयो ।

पोखरा एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रस्ताबित बुटवल–सुनौली रेलमार्ग निर्माणले प्रस्तावित प्रदेश नम्बर ४ को विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो रेलमार्ग निर्माणको लागि भारतीय पहलको अपेक्षा गर्नुभयो । नेपालबाट भारतका विभिन्न सहरमा हवाई सम्पर्कको लागि भारतीय सहयोग अपरिहार्य रहेको उहाँको भनाई थियो । भारतको बृन्दाबनमा रहेको ‘बृन्दाबन गार्डेन’ जस्तै संरचना पोखरामा बनाउन सके त्यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उहाँले प्राविधिक सहयोगको लागि राजदूत पुरीसँग आग्रह पनि गर्नुभयो ।

पोखरा पर्यटन परीषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पोखराको खेलकुदको विकासको लागि सघाउन भारत सरकारसँग आग्रह गर्नुभयो । भारतका विभिन्न कम्पनीहरुको नेपाल ठूलो बजार भएको प्रसङ्ग उप्काउँदै उहाँले ती कम्पनीहरुले सामाजिक उत्तरदायित्व(सिएसआर )को लागि छुट्टयाउने रकममध्ये सानो रकम नेपालमा खर्च गरिदिए पनि नेपालले ठूलो लाभ लिन सक्ने तर्क गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा  संघका कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले केही समयअघि भारतीय युवा व्यवसायीहरुसँग भएको भेटघाटको प्रसङ्ग झिक्दै त्यहाँका युवाहरुको उद्यमशीलता नेपालको लागि पनि अनुकरणीय भएको बताउनुभयो । कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष ऋषि सापकोटा र पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य धनीराम बरालले पनि नेपालको विकासको लागि भारतीयतर्फबाट अझ बढी सहयोगको लागि आग्रह गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...