तीब्रताका साथ काम गर्न सभामुखको निर्देशन

पोखरा, ५ फागुन /प्रदेश ४ का सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना बनाउनु पर्ने बताउँदै यसका लागि तीब्र गतिमा काम गर्न प्रदेश सभा सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले यस्तो निर्देशन दिनुभएको हो । ‘संघीयता कार्यान्वयन शुरु भएको छ यसलाई सफल बनाउन छिटो भन्दा छिटो काम गर्नुपर्ने आवश्यकता छ, हामी हाम्रो स्थानबाट जुट्छौं तपार्र्ईं तपाईको स्थानबाट जुट्नुहोस ।’ उहाँले भन्नुभयो ।

संघीयतालाई हेर्ने अझै धेरै भ्रमहरु रहेको बताउँदै अधिकारीले ती भ्रमहरु निवारण गर्न कानूनहरु आवश्यक रहेको र ती कानूनहरु बन्न छिटो काम हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सभामुखको सपथ लिएर सहिद स्मृति पार्कमा माल्र्यापण गरेपछि उहाँ सिधै प्रदेश साँसद भवन पुग्नुभएको थियो । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गरेपछि उहाँले प्रदेश सभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको थियोे ।

नदिपुर स्थित प्रदेश संसद भवन पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका प्रमुख जिवराज बुढाथोकी लगायतका कर्मचारीले स्वागत गरेका थिए । प्रदेशको अबको बैठक आईतवार बस्दैछ र त्यो बैठकको अध्यक्षता अधिकारीले गर्दै हुनुहुन्छ । यस अघि बसेका दुईवटा प्रदेश सभाका बैठक ज्येष्ठ सदस्यता हैसियतले साँसद जनकलाल श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...