मकै पोलेर बेच्ने ८२ वर्षीय आमालाई दोसल्ला सहित १० हजार

पोखरा, ३ असार / सडक पेटीमा मकै पोलेर जीविकोपर्जन गर्दै आउनु भएकी ८२ वर्षीय आमालाई मकै पोलिरहेकै स्थान गएर दोसल्ला सहित नगद रू १० हजार प्रदान गरिएको छ । पोखरा –१७, घारिपाटनमा १० वर्षदेखि मकै पोलेर जीवन धान्दै आउनु भएकी साहारा क्षेत्रीको बारेमा जेठ २५ गते राससमा ‘हरियो मकैले धानेको बुढयौली’शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

समाचारबाट उहाँको बास्तविकता बुझे पछि बेलायत निबासी समाजसेवी प्रेमबहादर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत रकम पठाउनु भएको हो । “हामीले बुढी आमाको बारेमा समाचारमा पढेउ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ माया ममता र उचित स्याहारका साथ बाँच्नु पर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनु भएको रहेछ ।

मनभरी आमा प्रति श्रद्धा र सम्मान जाग्यो, रक्तचापको पनि बिरामी हुनुहुँदो रहेछ, त्यसैले सानो सहयोग पठाएका हौ” , फोनबाट सम्पर्ककमा आउनु भएका प्रेम गुरुङले भन्नुभयो । दोसल्ला सहित नगद १० हजार बुझ्दै गर्दा आमाका आँखा रसाएका थिए । “मेरै कोखबाट मैले नजन्माएपनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन् ।” आमाले भन्नुभयो “बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु, भगवानले छोरा छोरीको रुपमा हजुरहरुलाई पठाउनु भयो , निरोगी भएर नाम दाम कमाएर बाँच्नु मेरो आशिष लागोस् ।”

बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिए पछि । विपन्न परिवारको लागि सहयोग अभियानमा सक्रिय हुनुहुन्छ । आमालाई दोसल्ला ओढाउँदै गुरुङले भन्नुभयो “आमाको यो उमेरको परिश्रम देखेर सम्मान गर्न मन लाग्यो, अनि दोसल्ला ओढाएर सम्मान गरें, उहाँमा जुन आत्मविश्वास छ ,उमेर ढल्किएकाहरुको लागि एउटा ऊर्जा र प्रेरणा पनि हो” उहाँले भन्नुभयो, “यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दह्रो बनाएर आगोमा पसिना चुहाउनु भएको छ, बाँच्नकका लागि संघर्ष गर्नुभएको छ । पीडा लुकाएर मुस्कुराउन सक्ने उहाँ खुबीले नतमस्तक बनायो ।”

उहाँले यो असहज अवस्थामा युके निवासी धेरै नेपाली मनहरुले नेपाली माटोलाई निकै माया गरेको बताउनुभयो । “बेलायती नेपालीले यो बेला आफ्नो छाक कटाएर पनि नेपाली विपन्न परिवारको लागि रकम पठाउनु भएको छ ।

उत्तिकै आत्मियता र सम्मान प्रकट गर्नु भएको छ, यसले हामीलाई आहत मनमा राहत लिएर जान प्रेरित गरेको छ ।” गुरुङले भन्नुभयो, “कोरोनाको जोखिमका बीच म र मेरो साथी पार्वती गुरुङ सहयोग अभियानमा छौ, हामी माथिको विश्वासले सहयोग रकम निरन्तर आएको छ । आजसम्म एकहजार बढीलाई राहत वितरण गरिसकेका छौ ।”

कमेन्टहरु
Loading...