विद्यालयमा टाइ र मिनीस्कर्ट निषेध गर्न ः हिन्दू मोर्चा नेपालको माग

पोखरा, २३ चैत/हिन्दू मोर्चा नेपालले विद्यालयमा टाइ र मिनीस्कर्ट निषेध गर्न माग गरेको छ । अनावश्यक रुपमा बोर्डिङ स्कुलले अभिभावकसँग असुल गर्दैआएको अतिरिक्त शुल्कप्रति ध्यानाकर्षण जनाउँदै मोर्चाले शैक्षिक सत्र २०७३ देखि कास्कीका विद्यालयमा टाइ र मिनी स्कर्टमुक्त बनाउन माग गरेको हो ।

पोखरामा सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले एकै विद्यालयमा पठनपाठन गरिरहेका विद्यार्थीलाई भर्नाको नाममा प्रत्येक वर्ष रकम असुली गर्ने प्रवृत्ति रोक्न आग्रह गर्दै तुरुन्त टाई प्रयोग हटाउन सम्बन्धित विद्यालयमा अनुरोध गरेको छ । नेपालमा वर्षेनी २ करोड टाइ प्रयोग हुँदा २ सय करोड रुपैयाँ बाहिरिने गरेको पनि मोर्चाले जनाएको छ । इशाइ धर्मको प्रतीक टाई विद्यालय पोशाकमा समावेस गर्दा मौलिक संस्कृति हराउँदै पश्चिम संस्कृतिलाई बढावा दिने कार्य भएको मोर्चाको ठहर छ ।

बैठकपछि मोर्चाका जिल्ला संयोजक रुकु क्षेत्रीद्धारा जारी विज्ञप्तिमा कोही कसैले विद्यालय पोशाकमा टाई अनिवार्य गराई अभिभावकलाई आर्थिक भार थप्ने प्रयास गरे गराए मोर्चाद्धारा त्यस्ता विद्यालयमा गरिने कारबाहीको जिम्मा विद्यालय स्वयंले लिनुपर्नेछ, भनिएको छ । मोर्चाको गत फागुन २४ मा काठमाडौको बनकालीमा केन्द्रीय समितिको सम्पन्न बैठकले विद्यालयमा टाई र मिनी स्कर्टमुक्त बनाउने निर्णय गरेको थियो ।

कमेन्टहरु
Loading...