आफ्ना सिर्जना र अक्षरारम्भका साथ मदरल्यान्डमा सरस्वती पूजा

पोखरा, २७ माघ /माघ शुक्ल पञ्चमीका दिन हरेक वर्ष सरस्वतीको पूजा आरधाना गरिन्छ । यस दिनमा सिर्जना र शब्द रचना गर्ने अनि ससाना बाबुनानीहरूलाई अक्षरारम्भ गराउने काम पनि गरिन्छ । सिर्जना र ज्ञानको यात्रा अनन्त कालसम्म रहिरहोस् भन्दै पोखराको मासवारमा अवस्थित मदरल्यान्ड माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा आबद्ध सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको वृहत् उपस्थितिमा आयोजित उक्त पूजा तथा अक्षरारम्भ कार्यक्रममा विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा पूजा आराधाना गरिएको छ । पण्डित कृष्णप्रसाद गौतमले पूजारीको भूमिका निर्वाह गर्दै सहजीकरण गर्नुभएको सो कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक तथा भक्तजनहरूले पङ्क्तिबद्ध भई विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आरधाना गरी प्रसाद ग्रहण गरेका थिए ।

हिन्दूहरूको एक पर्वका रूपमा मनाइने श्रीपञ्चमीमा हातमा वरमुद्रा, पुस्तक, माला र विणा धारण गरेकी चतुर्भुजी सुन्दर स्त्री तथा सृष्टिको प्रारम्भ कालमा अद्भुत शक्तिबाट उत्पन्न सरस्वतीलाई ज्ञानको विशाल शक्तिका रूपमा हेरिने कुरा उल्लेख गर्दै विद्यालयका निर्देशक त्रिभुवन शर्माले सरस्वतीको असीम कृपाले सकारात्मक शब्दका भावहरूको पदार्पण भइरहोस् भन्ने कामना व्यक्त गरे ।

शैक्षिक मन्दिर विद्यालयमा बाल नेतृत्व विकासका लागि गठित विभिन्न बाल सङ्गठन तथा शिक्षक कल्याणकारी कोषको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा सरस्वती पूजा कार्यक्रम विद्यालय प्राङ्गणमा हरेक वर्ष गरिँदै आएको कुरा कार्यक्रम संयोजक तथा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।

कमेन्टहरु
Loading...