पोखराका सडकबाट उद्धार गरी आश्रय

पोेखरा, १८ चैत /पोखराको सडकमा कष्टकर जीवनयापन गर्न बाध्य २३ जनालाई उद्धार गरी आश्रय दिइएको छ । सबैलाई नाना, खाना र छाना भन्ने उद्घोषका साथ अनाथ, अपांग, असाहय तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिलाई उद्धार गरिएको हो ।

मानव सेवा आश्रमको आयोजना तथा सामाजिक जागरणका लागि नारी अभियानको सहआयोजनामा सामूहिक उद्दार तथा सहभोज कार्यक्रम आयोजना गरी उनीहरुलाई गृहप्रवेश गराइएको हो । संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा मानव सेवाआश्रमको १० औं शाखा संचालन गरिएको हो ।

उनले यस कार्य मानवीयमात्र नभएर पर्यटन प्रवद्र्धनका लागि समेत महत्वपूर्ण भएको बताए । उनले सरकारले गर्नुपर्ने कार्य समुदायस्तरबाट भएकोमा खुसी व्यक्त गर्दै आफूले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पोखरा पर्यटकीय क्षेत्र भएकाले सुरक्षा हिसाबले समेत महत्वपूर्ण भएको बताउँदै चुनौतीपूर्ण कार्य भएकाले निरन्तरताको लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सांसद कृष्ण थापाले आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य भएको भन्दै राम्रा काममा सदैव साथ, सहयोग र सहकार्य गर्ने प्रतिवद्धताका साथमा आश्रम संचालनका लागि ५० हजार सहयोग गर्ने घोषणा गरे ।

सांसद दीपक कोइरालाले मानवीय कार्यजस्तो ठूलो धर्म केही नहुने भन्दै सडकमा बेवारीसे व्यक्तिलाई सहारा दिने कार्यमाआफ्नो र पार्टीको समेत साथ रहने बताए । प्रमुख संरक्षक डा गोविन्द टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा वडा १७का अध्यक्ष तीर्थराज अधिकारी, सामाजिक जागरणका लागि नारी अभियानका अभियन्ता तथा आश्रमका अभिभाभक सुष्मा पौडेल, नेपालकेशरी डा मणिभद्रमुनी महाराजले यस कार्यमा सवैले साथ दिनुपर्ने धारणा व्यक्त गरे।

संस्थाका केन्द्रीय अध्यक्ष तथा परिकल्पनाकार रामजी अधिकारीले ५ वर्षअघि मकवानपुरवाट सुरु भएको संस्था सबैको साथ र सहयोगले नवौं शाखाका रुपमा पोखरामा संचालन गर्न पाएकोमा खुसी व्यक्तगर्दै सहयोगको लागि अनुरोध गरे । पोखरा १७ गुप्तेश्वर गुफा नजिकै खड्कबहादुर शाहीको ७ रोपनी जग्गामा निर्माण भएको २७ कोठाको भवनमा आश्रम संचालन गरिएको हो ।

कमेन्टहरु
Loading...