लकडाउनमा भारतबाट पोखरा आएको युवक, छतबाट हामफाले

युवराज श्रेष्ठ
पोखरा, ३० वैशाख / सोलुखुम्बुका २३ वर्षीय अभिषेक बस्नेत रोजगारीका लागि भारतको कर्नाटकस्थित बैंगलुरूमा बस्दै आएका थिए । लकडाउन भएपछि बैंगलुरूमा काम गर्ने अवस्था भएन । नेपालका लागि मे १ तारिखका दिन प्रस्थान गरे । नेपाल आउँदा कर्नाटक हुँदै कहीँ हिँडे त कहीँ तरकारीका गाडी चढे ।

बस्नेत कहाँबाट नेपाल छिरे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर नरहरी अधिकारीले बताए । ‘बैंगलुरूबाट पोखरासम्म कसरी आइपुगे, हामीले अनुसन्धान गर्दैछौं’, उनले सेतोपाटीलाई भने, ‘अनुसन्धानपछि सम्पूर्ण विवरण आउला ।’

पोखरामा बस्नेतका आमाबाबु बस्छन् । पोखरा ८ नागढुंगामा आमाबाबुले भाडामा लिएको कोठामा बिहान ९ बजे आइपुगेको प्रहरीले बताएको छ । उनी मुग्लिनबाट तरकारी बोक्ने गाडीमा चढेर पोखरा आइपुगेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।

भारतबाट युवा पोखरा आइपुगेको थाहा पाएपछि स्थानीयवासीले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए। पोखरा ८ का वडाध्यक्ष रूद्रनाथ बरालले प्रहरी टोलीसहित बस्नेत बसेको घर पुगे। प्रहरीसहितको टोली देखेपछि उनी घरको छतबाट हामफाले।

‘क्वारेनटाइनमा राखौं भनेर गएका थियौं, डराएर होला छतबाटै हामफाले’, वडाध्यक्ष बरालले सेतोपाटीलाई भने, ‘उनको कोरोना जाँच भइराखेको छ।’ घरको ३ तला माथिबाट हामफाले पनि ठूलो चोट नलागेको प्रहरीले जनाएको छ।

माथिबाट हामफाल्दा बस्नेत तल टिनमा परेका थिए। उनको दाहिने खुट्टामा सामान्य चोट लागेको इन्स्पेक्टर अधिकारीले बताए। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेर सामान्य उपचार र कोरोना जाँच्न स्वाब निकालेपछि बस्नेतलाई पोखरा महानगरले बनाएको क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष बरालले बताए।

‘कोरोना रिपोर्ट आएपछि मात्र उनलाई हामी घर जान दिन्छौं’, उनले भने। भारतको बैंगलुरू, कर्नाटकबाट १२ दिनको यात्रा गरेर पोखरा आइपुगेका बस्नेत तीन महिनाअघि मात्र भारत गएको बताएका छन्। उनले प्रहरी र वडाध्यक्षसँगको कुराकानीमा गोरखपुर हुँदै नेपाल छिरेको बताएका छन् । सेतोपाटी डटकमबाट

https://www.setopati.com/social/206101

कमेन्टहरु
Loading...