पोखरा मिड टाउन र वाराहीद्वारा कर अधिकृत लामिछानेलाई सम्मान

नेत्रहीन संघलाई सेतोछडी सहयोग

पोखरा, २९ असार /आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत एवं सूचना अधिकारी विजयीप्रसाद लामिछाने सम्मानित भएका छन् । लायन्स क्लब अफ पोखरा मिड टाउन र लायन्स क्लब अफ पोखरा वाराही टाउनले लामिछानेलाई सम्मान गरेको हो ।

निजामती सेवा अन्तर्गत प्रशासन सेवा, राजश्व समूह, शाखा अधिकृत पदमा दृष्टिबिहीन अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट प्रथम पटक सेवा प्रवेश गरेका लामिछानेलाई क्लबले सम्मान गरेको हो । अपाङगता भएका व्यक्तिहरुको प्रेरणाको स्रोत बन्न सफल भएकाले लामिछानेलाई सम्मान गरिएको मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

सोही अवसरमा कास्की नेत्रहीन संघलाई ४१ वटा सेतो छडी सहयोग गरिएको छ । सामाजिक कार्यक्रम अन्तर्गत दृष्टिबिहीनहरुका लागि संघमार्फत सेतो छडी वितरण गरिएको कार्यक्रम संयोजक रामजी केसीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्ति तथा प्रमुख अतिथि विजयप्रसाद लामिछानेले मिड टाउनको सम्मानले आफूलाई थप हौसल्ला प्रदान गरेको बताए । दृष्टिबिहीनहरुका लागि प्राप्त सेतो छडी आफूहरुको सहारा बन्ने गरेको बताउँदै उनले अन्य संघसंस्थाई पनि सहयोग गर्ने उनले आग्रह गरे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा जिएसटी कोअर्डिनेटर कृष्णराज पोखरेल, रिजन चियरपर्सन लक्ष्मी बराल, निबर्तमान अध्यक्ष तथा कमिटि कोचियरपर्सन देवी तिमिल्सिना, नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, वाराही टाउनका अध्यक्ष कृष्ण श्रेष्ठ ‘रोजी’, समदृष्टि सहकारीका अध्यक्ष श्रीकान्त सापकोटा, मिड टाउनका प्रथम उपाध्यक्ष विश्वास भण्डारी, तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।कार्यक्रम सफल पार्न कार्यक्रम संयोजक रामजी केसी र क्लबका निर्देशक तथा बजगाई डेरीका सञ्चालक सन्तोष बजगाईले सहयोग गरेका थिए । बासुरी बादक दृष्टिबिहीन कालिबहादुर परियारलाई सोही अवसरमा ४ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

क्लबले विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गरिरहेको सचिव भुर्तेलले जानकारी दिए । २० जना महिलाहरुका लागि कम्प्युटर तालिम सञ्चालन गरिरहेको क्लबले २० जना महिलाहरुकै लागि झोला बुन्ने तालिम समेत सञ्चालन गरिरहेको छ ।

कमेन्टहरु
Loading...