विद्यालयको भौतिक र शैक्षिक स्तरोन्नतीका लागि महायज्ञ

रेम बिक /पोखरा, १५ असोज/लेखनाथकै पुरानो विद्यालयको रुपमा परिचित लक्ष्मी आदर्श उच्च माविले भौतिक पुर्वाधार निर्माणका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गर्ने भएको छ । कात्तिक १ गतेदेखि ८ गतेसम्म चल्ने महायज्ञको बारेमा आयोजक संस्था लक्ष्मी आदर्श शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । महायज्ञबाट पाँच करोड रुपैँया आम्दानी गर्ने आयोजकको लक्ष्य छ ।

‘विद्यालयको भौतिक संरचनासंगै शैक्षिक स्तर बढाउनका लागि आवश्यक पर्ने आर्थिक सहयोग हामीले महायज्ञ गरेर उठाउन लागेका हौँ ।’ महायज्ञ मुल आयोजक समितिका संयोजक बाबुराम जम्मरकट्टेलले भने–‘जसले गर्दा हामीले स्थानियस्तबाटै दक्ष जनशक्ति उत्पादन गर्न सकौँ ।’ शैक्षिक स्तरोन्नतीतर्फ विद्यालयले वैज्ञानिक, व्यवसायिक र सिपमुलक शिक्षामा जोड दिने जनाएको छ । यसका लागि आवश्यक पुर्वाधार र शिक्षकहरुको जोहो गर्नका लागि पनि आर्थिक समस्या पर्ने भएकोले महायज्ञ गर्न लागेको जम्मरकट्टेलले बताए ।

महायज्ञबाट उठेको रकमले भौतिक निर्माणतर्फ अधुरा रहेका भवन, पुस्तकालय, विज्ञान प्रयोगशाला, शौचालय, खेलमैदान तथा फर्निचर निर्माण गर्ने योजना रहेको आयोजकले जनाएका छन् । महायज्ञलाई सफल बनाउनकै लागि मुल आयोजक समितिले १ सय १ वटा उपसमिति बनाएर काम गरिरहेको छ ।

महायज्ञमा पण्डित कमलनयन गौतमले कथावाचन गर्ने आयोजकले जनाएको छ । आयोजकले महायज्ञ अवधीभर ३० लाख रुपैँया खर्च लाग्ने अनुमान गरेको छ । विशेषगरि स्थानियबासी र पुर्व विद्यार्थीहरुलाई आयोजकले महायज्ञमा दान गर्नेहरुको सुचीमा राखेको छ । लक्ष्मी आदर्श उच्च माविबाट ४ हजार भन्दा बढि विद्यार्थीहरु पास आउट भैसकेका छन् । हाल उनीहरु स्थानियस्तरदेखि अन्तराष्ट्रियस्तरमा रहेर विभिन्न काम गरिरहेका छन् । ‘हामीले सहयोग प्राप्त गर्नका लागि नेटवर्किङमार्फत सबैलाई जानकारी गराउँदैछौँ ।’ प्रचारप्रसार उपसमितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले भने–‘विद्यालयको लागि सहयोग आउनेमा हामी ढुक्क छौँ ।’

कमेन्टहरु
Loading...