महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई नागरिक अभिनन्दन गरिने

पोखरा, ३ चैत /आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा चैत्र ९ गते शनिवार पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यक्रम गरी उनलाई नागरिक अभिनन्दन गरिने छ । कृष्णदास महाराज नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अन्तर्गत रहेको लक्ष्मीनारायण मन्दिरको पिठाधिश पनि हुन् ।

कार्यक्रमको तयारीका लागि नारायणस्थान धार्मिक विकास समितिले शनिवार धार्मिक संघ संस्थाको भेला गरेको छ । भेलाले राजनीतिज्ञ एवं धार्मिक व्यत्तित्व शुक्रराज शर्माको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा महेश पराजुली, धर्मराज बराल (भोला), सचिवमा रविन्द्र बाटाजु, कोषाध्यक्षमा माधव बास्तोला ‘मधु’, सहकोषाध्यक्षमा विष्णुप्रसाद पराजुली, सहसचिवमा रिता पालिखे छन् । त्यस्तै, सदस्यमा रामकृष्ण ज्ञवाली, दिपेन्द्र श्रेष्ठ, राजबहादुर गुरुङ, दिपकराज शर्मा भण्डारी लगायत धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि छन् ।

भेलाले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । जसमा नवीन सिग्देलको संयोजकत्वमा प्रचार प्रसार, रमा पौडेलको संयोजकत्वमा अर्थ संकलन, विष्णु तिमिल्सिनाको संयोजकत्वमा स्वयंसेवक परिचालन, जगन्नाथ कोइरालाको संयोजकत्वमा धार्मिक संघसंस्था समन्वय, लक्ष्मी श्रेष्ठको संयोजकत्वमा महिला परिचालन, गृमानसिंह थापाको संयोजकत्वमा भण्डार व्यवस्थापन, टुकाराम लामिछानेको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

भेलामा बोल्दै नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माले कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन गर्न पाउँनु ठूलो गौरवको विषय भएको बताए ।

कृष्णदास महाराजलाई अभिनन्दन गर्न पाउँनु दिव्य अवसर हो, उनले भने – ‘यो कार्यक्रम पोखराका लागि ऐतिहासिक बन्ने छ।’ उनले कार्यक्रम सफल बनाउनका लागि उत्साहका साथ तयारीमा जुट्न आग्रह गर्दै प्रदेश र स्थानीय सरकारले समेत व्यवस्थापनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइने छ । नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु हुने रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्र पुग्ने छ । प्रदर्शनी केन्द्रमा उनको नागरिक अभिनन्दन गरिने कार्यक्रम तय गरिएको छ ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा भएको भेला सचिव धर्मराज बराल (भोला)ले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...