कास्कीको निर्बाचन शान्तिपूर्ण, ७५ प्रतिशत मत खस्यो, मतगणना आजै

गोकुल बानिया
पोखरा ४ मंसिर/कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान साझ ५ बजे सकिएको हो । ४ निर्बाचन क्षेत्रका एक सय ४७ स्थानमा रहेका २ सय ९२ ओटै मतदान केन्द्रमा बिना कुनै अबरोध मतदान प्रक्रिया सम्पन्न भएको जिल्ला निर्बाचन कार्यालय कास्कीले जनाएको छ । जिल्लामा रहेको कुल एक लाख ९७ हजार ६ सय ६८ मध्य करिब ७५ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान छ ।

बहिस्कारबादी दलको आन्दोलनलाई छिचोल्दै कडा सुरक्षाको बिच शान्तिपूर्ण बाताबरणमा मताधिकार प्रयोग गर्न पाएकोमा कास्कीका मतदाता पनि उत्साहित छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सहभागिता जनाउन बिहानी समयमै अधिकांश मतदाता केन्द्रमा पुगेका थिए । मतदानको लागि महिला पुरुषको छुट्टा छुट्टै लाईनको ब्यबस्था गरिएको थियो भने बृद्धबृद्धा, अपाङग, असक्तको लागि लाईन नबसी सिधै मतदानको ब्यबस्था मिलाईएको थियो ।

मतदान सकिए लगतै कास्कीका सबै केन्द्रका मतपेटिका सिल गरी मतगणना स्थलमा ल्याउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोइरालाले बताए । सडक सञ्जालले छोएका केन्द्रमा गाडिमा र नभएका दुर्गम केन्द्रका मतपेटिकालाई पनि सुरक्षित रुपमा मतगणनास्थलमा ल्याईने उनले बताए । बिकट ग्रामिण क्षेत्र बाहेक अन्य सबै क्षेत्रको मतपेटिका राति ११ बजे सम्म मतगणस्थलमा आईपुग्ने बताईएको छ ।

मतगणना आजै साझँ हुन सक्ने निर्बाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । मतगणनाको लागि क्षेत्रगत रुपमा चार स्थान तोकिएको छ । निर्बाचन क्षेत्रनम्बर १ को क्षेत्रिय शिक्षा निर्देशनालय पोखरा, २ को जिल्ला बिकास समिति , ३ को जिल्ला अदालत र क्षेत्रनम्बर ४ को निर्बाचन कार्यालयमा मतगणना स्थल तोकिएको छ । कास्कीमा २७ दलका ७० र ७ स्वतन्त्र गरी ७७ उमेदवार चुनाबी मैदानमा छन् । क्षेत्रगत रुपमा कास्कीको निर्बाचन क्षेत्रनम्बर एकमा ८६ , दुईमा ७१, तीनमा ५६ र क्षेत्रनम्बर चारमा ७९ मतदान केन्द्र तोकिएको थियो ।

सबै केन्द्रमा ब्यबस्थित रुपमा मतदान भएको निर्बाचन कार्यालयले जनाएको छ । निर्बाचनको लागि कास्कीमा २३ सय कर्मचारी खटिएका थिए जस मध्य ८ केन्द्रमा महिलालाई जिम्मेवारी दिईएको थियो । २०६४ को संबिधानसभा सदस्य निर्बाचनमा कास्कीको क्षेत्रनम्बर १, २ र ४ मा एकिकृत माओबादीले जितेको थियो भने ३ मा एमाले बिजयी भएको थियो । अहिले पुरानो परिणाम नदोहोरिने बिष्लेषण गरिएको छ ।

कमेन्टहरु
Loading...