चार फरक पृष्ठभुमिका ब्यक्तिहरु सम्मानित

पोखरा, १ कात्तिक/पोखरामा सोमबार ४ फरक पृष्ठभुमिका ब्यक्तिहरु सम्मानित भएका छन् । क्रियटिभ ब्रोडकास्टिङ्ग मिडिया प्लसले आफ्नो बार्षिक क्यालेण्डर अन्तर्गत समाजका बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिलाई सम्मान गरेको हो । कार्यक्रममा बरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङ्ग, प्रदेश नम्बर ४ का प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरिक्षक कमल सिंह बम, कलाकार बाबुराम कस्केली बस्ताकोटी र युवा उद्यमी उत्तम गुरुङ्ग सम्मानित भएका हुन् ।

सम्मानित ब्यक्तिहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला, सम्मान पत्र, नेपालको झण्डा तथा ढाकाटोपी प्रदान गरि सम्मान गरेका थिए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सम्मानले सम्मानित ब्यक्तिको जिम्मेवारी तथा योगदानको कदर हुने बताए । उनले संस्कृतिबिद डा. जगमान गुरुङ्गलाई आँफैले सम्मान गर्न पाँउदा खुसी ब्यक्त गरे ।

सम्मानित बरिष्ठ संस्कृतिबिद डा. जगमान गुरुङ्गले मौलिक संस्कृति लोप हुँदै गएकोमा चिन्ता प्रकट गर्दै युवा पुस्तालाई संस्कृति बारे ज्ञान दिलाउन आवश्यक रहेको कुरा अभिब्यक्त गरे । उनले बिभिन्न लोक तथा साँस्कृतिक भाकाहरुलाई गाएर सुनाएका थिए । प्रदेश नम्बर ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक कमल सिंह बमले सम्मानले उर्जा मिलेको बताउदै प्रदेश नम्बर ४ को शान्ती सुरक्षामा कुनै कसर बाँकी नराखी काम गरिरहेको बताए ।

क्रियटिभ मिडिया प्लसका प्रबन्ध निर्देशक मिलन प्रतिकको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा मिस क्रियटिभका सहभागिहरुले कल्चरल शो गरेका थिए । कार्यक्रममा पोखरा एफएमका स्टेशन म्यानेजर सन्जय मल्ल, कलाकार बाबुराम कस्केली बस्ताकोटी, युवा उद्यमी उत्तम गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन श्रेया श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...