‘लकडाउन स्पेशल’ भिडियो बनाएर २५ हजारसम्म पुरस्कार जित्ने मौका

पोखरा, ५ बैशाख / जक्शन ग्रुप प्रालिले संचालनमा ल्याएको जक्शन टिभीले लकडाउनलाई लक्षित गर्दै ‘भिडियो कन्टेस्ट’को आयोजना गरेको छ । लकडाउनले सबैजना बोर भएकोले उनीहरुलाई केही रमाईलोसँगै आफ्नो प्रतिभा देखाउने मौका पनि होस् भन्ने हेतुले कन्टेस्टको आयोजना गरिएको जक्शन ग्रुपले बताएको छ ।

‘हाउ क्रियटिभ मोबाइल भिडियो कन्टेस्ट’ नाम दिएको प्रतियोगितामा विश्वभरबाट हरेकले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । र, यो कन्टेस्टमा सहभागी भएर २५ हजार रुपैयाँसम्म जित्न सकिने जक्शन ग्रुपले बताएको छ । ‘लकडाउनले गर्दा सबैजना घरमै बस्नुपरेको छ । र, घरमा बस्दा बोरिङ भएकाहरुले आफ्नो प्रतिभा देखाउन सक्छन् भन्ने हाम्रो बुझाई हो । त्यसैले हामीले प्रतिभावान व्यक्तिहरुलाई भिडियो कन्टेस्टमा सहभागिताका लागि आह्वान पनि गर्दछौँ ।’ जक्शन ग्रुपका प्रबन्ध निर्देशक अरुण गिरीले भने ।

कन्टेस्टका लागि सहभागीहरुले ३ मिनेटदेखि ५ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ । र, बनेको भिडियो कन्टेस्टका लागि जक्शन ग्रुपलाई पठाउनुपर्नेछ । यसरी पठाईएको भिडियोहरु कन्टेस्टका लागि छनौट गर्ने र त्यसलाई प्रकाशनमा ल्याउने काम जक्शन ग्रुपले नै गर्नेछ । जक्शन ग्रुपले आफ्नो अनलाईन टिभीमार्फत ती भिडियोहरु प्रकाशनमा ल्याउने गिरीले बताए ।

आयोजकका अनुसार सहभागीहरुले घरभित्र या घरबाहिरको परिसरमा मात्र भिडियो बनाउनुपर्नेछ । र, मोबाइलले खिचेर मोबाइलमै इडिट गर्नुपर्नेछ । २१ दिनको अवधीभित्र छनौट भई प्रकाशन भएका भिडियोहरुमा दर्शकले दिएको कमेन्ट, भ्यूज अनि कम्पनीले नियुक्त गरेको निर्णायक टोलीको निर्णयको आधारमा विजेता घोषणा गरिनेछ । कुनै पनि सहभागीले यो कन्टेस्टमा एक्लैले ५ वटा सम्म फरकफरक विधाका भिडियो बनाउन सक्ने आयोजकले बताएको छ ।

बैशाख ५ गते शुक्रबारदेखि शुरु हुने यो कन्टेस्टको अन्तिम नतिजा बैशाख २६ गते आउनेछ । र, प्रतिस्पर्धीहरुले बैशाख १९ गतेसम्म आफ्ना भिडियोहरु पठाईसक्नुपर्ने आयोजकको नियम छ । ‘प्रतिस्पर्धीहरुले अभिनय गर्ने, गीत गाउने, कविता वाचन गर्ने, व्यायाम गर्ने, जादु देखाउने, आर्ट गर्ने जस्ता विभिन्न प्रतिभाहरु भिडियोमा समेट्न सक्नेछन् ।’ गिरीले भने–‘यसले उनीहरुको प्रतिभालाई अझै निखार्ने काम गर्नेछ भने केही रकम जित्ने मौका पनि दिन सक्छ ।’

प्रतिस्पर्धीमध्ये प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । र, विजेतालाई बैंकिङ प्रणालीमार्फत पुरस्कार उपलब्ध गराईने जक्शन ग्रुपले जनाएको छ ।

कमेन्टहरु
Loading...