भूपू गोर्खा सैनिकहरूलाई सहज रुपमा पेन्सन दिलाउन पहल गर्छुः मुख्यमन्त्री गुरुङ

पोखरा, १२ वैशाख/प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूपू गोर्खा सैनिकहरूले पेन्सनका लागि निकै कष्ट र झन्झट झेल्नु परेको भन्दै सहज रुपमा पेन्सन दिलाउन पहल गर्ने बताउनुभएको छ । विशेषगरी, भारतीय भूपू गोर्खा सैनिकहरूले पेन्सनका लागि निकै झन्झट व्यहोर्नु परेकोप्रति आफ्नो ध्यानाकर्षण भएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

गोर्खा कम्युनिटी पोखराद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भारतीय भूपू गोर्खा सैनिकहरूलाई सहज रुपमा पेन्सन पाउने वातावरण बनाउन आफूलाई भेट्न आएका भारतीय राजदूतावासका उच्च अधिकारीहरूलाई आग्रह गरेको बताउनुभयो । ‘भूपू गोर्खा सैनिकहरूको समस्याप्रति म गम्भीर छु’, उहाँले भन्नुभयो, ‘मसँग भेट्न आएका भारतीय राजदूतावासका अधिकारीहरूसँग मैले भूपूका समस्याबारे कुरा गरेको छु ।’ भारतीय गोर्खा सैनिकहरू अहिले एसबीआई बैंकमार्फत् आफ्नो पेन्सन बुझ्दै आएका अब अन्य वाणिज्य बैंकहरूमार्फत पनि पेन्सन लिने वातावरण बनाउन आफूले पहल गर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले नेपालको अर्थतन्त्रमा भूपू गोर्खा सैनिकको निकै ठूलो योगदान रहेको भन्दै भूपू गोर्खा सैनिकहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । ‘तपाईहरू लगानी गर्नुस्, तपाईहरूको लगानीको सुरक्षाको प्रत्याभूति म दिन्छु’, मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘चार नम्बर प्रदेशलाई समृद्ध र सभ्य प्रदेश बनाउन तपाई भूपू गोर्खाहरूको महŒवपूर्ण भूमिका रहनेछ ।’

भारत, बेलायत, सिंगापुर तथा नेपालका भूपू सैनिक एवं प्रहरीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले लाहुरेहरूले विलासितामा मात्रै खर्च गर्छन् भन्ने कुरालाई गोर्खा कम्युनिटी पोखराले गलत साबित गरिदिएको बताउनुभयो । नयाँ लगानीको क्षेत्र पहिचान गरी लगानी गर्नका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको भन्दै उहाँले बेरोजगारीको समस्या कसरी समाधान गर्ने भनेर आफू चिन्तित रहेको उल्लेख गर्नुभयो ।

प्रदेश नं. ४ की प्रदेशसभा सदस्य मीना गुरुङले भूपू गोर्खा सैनिकहरूको समस्या समाधानका लागि प्रदेशसभामार्फत् आफूले पहल गर्ने बताउँदै अन्यायमा परेका भूपू गोर्खाको पक्षमा सदैव उभिइरहने प्रतिबद्धता जनाउनुभयो । तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङले भूपू गोर्खा सैनिकहरूको रगत र पसिनाबाट प्राप्त भएको पैसाले देशको अर्थतन्त्रलाई निकै ठूलो योगदान पु¥याएको भएपनि राज्यले भूपूहरूको समस्यालाई बेवास्ता गरेको बताउनुभयो । पोखरामा भूपू गोर्खा सैनिकहरूको सम्मानमा गोर्खा चोक बनाउने कुरा अघि बढेकोप्रति खुशी व्यक्त गर्दै अध्यक्ष गुरुङले भूपू गोर्खाहरूको समस्यालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, भूपू गोर्खा पल्टनहरूका तर्फबाट क्या. टिकप्रसाद गुरुङलगायतले बोल्नुभएको थियो । गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मे. लक्ष्मीप्रसाद गुरुङले सो अवसरमा गोर्खा कम्युनिटी पोखराका बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शान्ति गुरुङले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...