Ganthan News Pokhara
All news from Pokhara & around

पोखराः अबको परिकल्पना, ग्रेटर पोखरा कि अर्को काठमाडौं ? (भिडियो सहित)

रविन्द्र अधिकारी

पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१७ (नेपाल साहित्य महोत्सव २०७३) फेवा किनारको नेपाल पर्यटन बोर्डमा आजदेखि सुरु भएको छ । पहिलो सत्र “पोखराः अबको परिकल्पना”मा पत्रकार सुजित महतले रविन्द्र अधिकारी र बुद्ध एयरका निर्देशक वीरेन्द्र बहादुर बस्नेतसँग विमानस्थल लगायतका पूर्वाधार निमार्ण भइसकेपछिको पोखरा कस्तो हुनुपर्छ भन्ने परिकल्पना गरे । सोही कार्यक्रममा रविन्द्र अधिकारीले प्रस्तुत गरेका मुख्य कुराहरु

अहिले पोखरामा ठूला विकासको आयोजना सुरु भएका छन् । एउटा हो अन्तर्राष्ट्रिय विमानस्थल र अर्को बुटवलबाट कालीगण्डकी कोरिडोर हुँदै कोरलासम्मको सडक । यी दुई परियोजना निर्माण भएमा पोखरा कस्तो होला भनेर अहिले सबैतिर र खासगरी पोखरेलीहरुमा चासो र उत्साह छ । यसबाट पोखरा मेगा सिटीमा रुपान्तर हुने ढोका खुल्नेछ । तर विकाससँगै त्यसले पर्यावरणीय क्षति होला कि भन्ने आशंका गरिँदै छ ।

खासगरी पर्यटकीय शहर पोखरालाई हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटकीय गन्तव्य बनाउन पनि खोजेको, बन्ने सम्भावना पनि रहेको र बनि पनि रहेको छ । त्यसको लागि विदेशी पर्यटकको लागि हवाई कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसकारण हामीले अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्‍यौं ।

अन्तर्राष्ट्रिय विमानस्थलले हाम्रो पर्यटनको सम्भावनालाई वास्तविकतामा परिणत गर्नेछ । आज भएका पर्यटकभन्दा करिब १५र२० गुणा बढी पर्यटक ल्याउनेछ । तर, यति मात्र पर्याप्त हुँदैन । हामीले उत्तर-दक्षिण कोरिडोर निर्माण पनि अघि बढाएका छौं । यो कोरिडोरले हिमाली, पहाडी र तल्लो भेगसम्म विकास हुनेछ र चीन र भारतलाई जोड्दै त्यो त्रिदेशीय कोरिडोर समेत हुनेछ । त्यसले व्यापार र अरु कुरालाई सहजीकरण गर्नेछ र औद्योगिक र अरु विकासहरुलाई पनि जोड्नेछ ।

प्रश्न के हो भने, यी दुइटा ठूला पूर्वाधार निर्माणपछिको विकासलाई र जनसंख्याको चापलाई पोखराले थेग्न सक्ला रु त्यस क्रममा पोखरालाई अर्को काठमाडौं बनाउने कि पोखरा नै बनाउने हो . पोखरालाई अर्को काठमाडौं र कंक्रिटको शहर बनाउने हो भने हामीले यही पोखराको डाउनटाउनभित्र नै सबै कुरालाई ल्याउनुपर्‍यो । हैन भने यी पूर्वाधारपछि ग्रेटर पोखराको अवधारणामा जानुपर्छ । यसमा सबै पोखरेलीहरुको साझा मत पनि देखिन्छ । म संसदीय विकास समितिमा क्रियाशी भइरहेकोले नाताले मेरो पनि त्यही मत हो ।

यसै क्रममा हामीले पोखरा र लेखनाथलाई एक ठाउँमा जोडेर लेखनाथ महानगरपालिकाको रुपमा प्रस्ताव गर्‍यौं । प्रदेश नम्बर ४ लाई स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, गोरखा मात्र हैन, मनाङ र मुस्ताङसम्म जोडेर ग्रेटर पोखराको अवधारणामा लैजान खोज्यौं ।

यो सँगसँगै पोखरा महानगरभित्रका साना-साना सिटीहरुलाई र अलि टाढाका स्याटेलाइट सिटीहरु हामीले निर्माण गर्नुपर्छ । सिक्लेस, घान्द्रुक, पुनहिल, धम्पुस, मट्टिखान जस्ता साना सांस्कृतिक गाउँहरु पनि निर्माण गर्नुपर्छ । पोखराको केन्द्रबाट ५० किलोमिटर क्षेत्रभित्र डबल लेन, फोर लेनका सडकसहितका ती स्याटेलाइट सिटी बनाउन सकियो भने पोखरामा चाप कम हुनेछ । त्यस अनुसार हामी समग्र विकासमा फैलिनुपर्छ । ती स्याटेलाइट सिटीहरुको कहीँ मेडिकल, कहीँ प्रकृति संरक्षण, कहीँ पर्यटन, कहीँ शिक्षा लगायत बेग्लाबेग्लै परिचय स्थापित गर्न सकियो भने साँचो अर्थमा समृद्धि आउनेछ ।

अर्कातिर, यी दुई परियोजना सफल भएर ग्रेटर पोखराको सपना सजाइरहँदा भोलि माइग्रेसन बढेर पोखरा कुरुप होला भन्ने आशंका पनि छ । पूर्वाधार विकासका क्रममा पर्यावरणमा क्षति होला कि भन्ने डर पनि मानिएको छ । त्यस कारण यसतर्फ पनि हामी चिन्तित छौं । ठूला पूर्वाधारले भौतिक विकास त हुने भो तर पर्यावरण सन्तुलन हामी कायम गर्न सक्छौं कि सक्दैनौं रु सबैभन्दा पर्यावरणीय सन्तुलन महत्वपूर्ण कुरा हो ।

ग्रेटर पोखरालाई हामीले धेरै जनसंख्या भएको शहरभन्दा पनि धेरै हरियाली भएको र वातावरणमैत्री शहर बनाउने हो । हामी अहिले सडकमा जति खर्च गर्दै छौं, भोलि पर्यावरण विकासमा पनि त्यति नै खर्च गर्न सक्ने गरी त्यस्तो फराकिलो ठाउँ भएको शहर बनाउन खोजेको हो ।

त्यस कारण हरियाली भएको पोखरा र यसको संरक्षणको क्षेत्रमा हामीले उत्तिकै काम गर्नुपर्छ । फेवातालसहितका अन्य तालतलैयाहरुको संरक्षण गर्ने र हिमाललाई बचाउने कुरा महत्वपूर्ण छ । हामीले पोखरामै सबै कुरा केन्द्रिकृत नगरौं । हामीले एउटा रिङरोड बनाउने परिकल्पना गरेका छौं, तर रिङरोड वरपर मान्छे बसाउन होइन । मान्छे आउजाउ गरुन् भनेर हो ।

हामीले भौतिक विकास भएको यो पोखरामा स्मार्ट पोखराको पनि अवधारणा ल्याइरहेका छौं । स्मार्ट पोखरालाई मेगा पोखरा बनाउने सोचेका छौं । एउटा त योजना नै सुरु भइसक्यो । तनहुँको दमौलीबाट पोखरा आइपुग्दा बीच-बीचमा दमौली, दुलेगौंडा, खैरेनी जस्ता स्याटेलाइट सिटीहरु निर्माण गर्दै ल्याउने योजना छ, ता कि पोखरामा चाप कम होस् ।

पोखराः अबको परिकल्पनामा पत्रकार सुजित महतले रविन्द्र अधिकारी र बुद्ध एयरका निर्देशक वीरेन्द्र बहादुर बस्नेत छलफल गर्दै । तस्विर ः युनिस गुरुङ
पोखराः अबको परिकल्पनामा पत्रकार सुजित महतले रविन्द्र अधिकारी र बुद्ध एयरका निर्देशक वीरेन्द्र बहादुर बस्नेत छलफल गर्दै । तस्विर ः युनिस गुरुङ

पोखराको थप विकास र व्यवस्थापनको लागि मास्टर प्लान ल्याउने बेला भइसक्यो । योजना बन्ने काम केही समय अगाडिदेखि बढिरहेको छ । यसका केही तथ्यांक सार्वजनिक पनि भएका छन् । म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, पोखरा जनसंख्याको हिसाबले तेस्रोबाट चौथो र पाँचौं भयो भनेर चिन्ता मान्नुपर्ने विषय होइन । किनभने पोखरा धेरै जनसंख्या बस्ने शहर हुनुपर्ने होइन, धेरै पपुलेसन अर्थात् पर्यटक बाहिरबाट ल्याउने शहर हुनुपर्छ । धेरै मान्छे आएर बसोबास गर्ने शहर बनाउने हो भने त यो काठमाडौं भइहाल्यो नि !

हामीले तीन वटा तहबाट सोच्नुपर्छ, एउटा डाउनटाउन पोखरा व्यवस्थित पार्ने, यसपछि पोखराको आसपासको पूर्वाधार विकास र ग्रेटर पोखराको अवधारणा अनुसारको विकास अनि त्यसपछि पोखराबाट लुम्बिनी, चितवन, कर्णाली र डोल्पासम्मको फराकिलो क्षेत्र । किनकि अहिलेको समयमा ती ठाउँसम्म पुग्नका लागि चाहिने कुरा कनेक्टिभिटी हो ।

ती ठाउँहरुमा पुग्दा हरेक ठाउँमा कुनै न कुनै पर्यटकीय प्रडक्ट तयार पार्नुपर्छ । त्यस्तो ठाउँ हामी सिक्लेसलाई बनाउन सक्छौं । घान्द्रुक, बन्दीपुर जस्ता धेरै ठाउँ छन् हामीसँग । यस्ता धेरैभन्दा धेरै पर्यटकीय प्रडक्ट उत्पादन गर्ने कुरामा पोखरा र आसपासको क्षेत्र लाग्नुपर्छ । सब माइग्रेसन भएर यहाँ आऊन् भनेर सोच्ने होइन, सबै जना यहाँ घुम्न आऊन् भनेर काम गर्ने हो । अहिले पनि आन्तरिक पर्यटनको धेरै हिस्सा पोखराले नै ओगट्छ, बाहिरका पर्यटक पनि यहीँ आऊन् । यो भिजनमा पोखरेलीहरु पनि स्पष्ट हुनुपर्छ ।

परियोजना सफल भएपछि यहाँ आउने २०/३० लाख पर्यटकहरुलाई लक्जरीयस सुविधासहित साहसिक पर्यटन र सबै खालका सुविधा दिन सक्ने अवस्था हामीले निर्माण गर्नुपर्छ । यहाँ खेलकुद पर्यटनको पनि निकै सम्भावना देखिन्छ । साहित्यिक(सांस्कृतिक पर्यटनको पनि सम्भावना छ । अरु कुन कुन सेक्टरलाई हामीले तान्न सक्छौं, कुन कुन सेक्टरको प्रडक्ट बनाउन सक्छौं त्यसमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।

खासगरी अहिले हामीले लेखनाथ र पोखराको एकीकृत विकासको गुरुयोजना अगाडि बढिरहेको छ । त्यसमा काम भइरहेको छ । मलाई लाग्छ केही महिना पछाडि प्रारम्भिक कुरालाई अगाडि सार्नेछौं । तत्कालका लागि हामीले पूर्वाधार विकासको काम अगाडि बढाएका छौं । दमौलीबाट यहाँ आउने कामको त सुरुवात भइसकेको छ, अरु ठाउँको पनि कसरी निर्माण गर्ने रु कहाँ(कहाँ महत्वपूर्ण एक्सेस बनाउने रुपोखराबाट ती ठाउँहरुसम्म पुग्न ४० मिनेटभन्दा बढी समय नलागोस् ।

पोखरालाई केन्द्र बनाएर ग्रेटर पोखराको अवधारणामा जाँदा पर्वत, गोरखा, स्याङ्जा, मनाङ, मुस्ताङ लगायत ठाउँलाई आधार मान्दा ती ठाउँहरुसम्म पुग्ने सडक र अरु पूर्वाधारहरुको कसरी निर्माण गर्ने भनेर लागेका छौं । चक्रपथ वा अरु माध्यमबाट पनि सबैलाई जोड्न सकौं भनेर हामी एकदमै प्राथमिकताका साथ लागेका छौं । साथै स्मार्ट सिटीको प्राविधिक हिसाबको पूर्वाधारका लागि पनि लागिरहेका छौं । यी दुइटा कुरा अहिले अघि बढिसकेको छ ।

तर, समग्र मास्टर प्लानको कुरा गर्दा हामी सामाजिक, आर्थिक, भौतिक पूर्वाधार तथा वातावरणीय संरक्षणको हिसाबबाट हामी लाग्नुपर्नेछ । यस क्रममा पोखराको मात्र मास्टर प्लानले पुग्दैन, बृहत्तर पोखराको मास्टर प्लान चाहिन्छ । त्यसमा हामीले काम सुरु गरेका छौं र अझै प्रभावकारी रुपमा काम अगाडि बढाउनेछौं । आफू विकास समितिको सभापति भएकोले अधिकार भएकोले म यो विश्वासका साथ भन्न चाहन्छु ।