गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ देखी पोखरा सभागृहमा

पोखरा, ५ जेठ / गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबारको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको गण्डकी प्रदेशका भौतिय योजना मन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

साँघुरो भवनमा संसद् चलाउँदै आएको गण्डकी प्रदेशले कोरोना संक्रमणको बढ्दो त्रासका कारण पोखरा सभागृहमा बजेट अधिबेशन गर्ने भएको छ । ६० सांसद रहेका गण्डकी प्रदेशमा सामाजिक दुरी कायम गर्दा अहिले संसद चलिरहेको भवन सानो हुने भएपछि पोखरा सभागृहमा संसद चलाउने तयारी थालेको हो ।
अबको प्रदेश सभा अधिवेशनमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र आगामी वर्षका लागि बजेटसमेत पेस गर्नेछ । त्यसका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल, प्रमुख सचेतक मणिभद्र शर्मा, सचेतक ओमकला चालिसे गौतम, सांसदहरु ललितकला गुरुङ र विन्दुकुमार थापा समेतसँग छलफल गरी सुझाव मागेका थिए ।

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ वैशाख मंगलबार सुचना टास गरेर अन्त्य भएको थियो । मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई एक/एकवटा गाडी खरिदका लागि बजेट उपलब्ध गराउने निर्णय पनि आइतबार गरेको छ ।

तनहुँको शुक्लागण्डकी र त्रिवेणी विद्युतीय शवदाहगृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि संघ सरकारलाई सिफारिस गर्ने गरेका मन्त्री बस्नेतले बताए । त्यसै गरी साना उद्यमीहरुलाई उपकरण हस्तान्तरणका लागि कार्यविधि मन्त्रिपरिषद्बाट पास गरेको छ ।

कमेन्टहरु
Loading...