गण्डकी प्रदेशमा बाहिरका मान्छेलाई आउन नदिने

पोखरा, ७ वैंशाख / गण्डकी प्रदेशमा अन्य प्रदेश आउने मान्छेलाई प्रबेश रोक लगाईएको छ । अरु प्रदेशबाट आउने ब्यक्तिहरुलाई नाकामै रोक्ने र त्यहीँबाट फर्काउने निर्णय गरिएको हो ।

कोरोना, रोकथाम, नियन्त्रण र ब्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिको बैठकले प्रदेशभित्रका एक जिल्ला र अर्को जिल्ला तथा एक स्थानीय तह र अर्को स्थानीय तहमा हुने आवतजावत पनि नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देश दिएको छ ।

कोही लुकीछिपी आवतजावत गरे सम्बन्धित ठाउँमा नै क्वारेन्टानइनमा बस्नैपर्ने बाध्यकारी ब्यवस्था गरिएको छ । यस्तै, लुकिछिपी अत्यावश्यक सेवाका गाडी चढेर कोही प्रदेशमा छिरे गाडीसहित त्यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिन पनि निर्देशन गरिएको छ ।

प्रदेश भित्रिने गाडीहरुलाई अनिवार्य किटनासक औषधी छर्कन र सम्बन्धित गाडीका चालकको कोरोना परीक्षण गर्ने ब्यवस्था पनि मिलाईएको समितिले जनाएको छ । प्रदेशभित्रका सबै मस्जित, मदरसा, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थल पूर्ण रुपमा बन्द गर्न भनिएको छ भने त्यसको अनुगमन गरेर नियन्त्रण गर्ने निर्णय भएको छ ।

र््यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) बाट नेगेटिभ रिजल्ट आएपनि पिसिआरमा पोजिटिभ आउन सक्ने भएकोले २८ दिन अनिवार्य क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरिएको छ ।

प्रदेशभित्रका सबै अस्पतालमा ओपिडिबाहेकका स्वास्थ्य सेवा सूचारु गर्न पनि निर्देशन दिईएको समितिका सदस्य एवं आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...