गण्डकी प्रदेश सरकारको निर्णयः सरुवा रोगको विशिष्ट अस्पताल खोलिने

पोखरा, २३ फागुन / विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको असरपछि गण्डकी प्रदेश सरकारले सरुवा रोग ब्यवस्थापनका लागि विशिष्टिकृत अस्पताल स्थापना गर्ने तयारी थालेको छ ।

मन्त्रीपरिषद् बैठकले अस्पताल स्थापनाका लागि १ अर्व ३४ करोड रुपैया संघ सरकारसँग माग गर्ने निर्णय गरेको हो । अस्पतालमा १ सय बेडको उपचार कक्ष हुनेछ भने कम्तिमा २ सय जना राख्न मिल्ने गरी क्वारेन्टाईनको परिकल्पना गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको सिफारिसमा सरकारले यो प्रश्ताव अघि सारेको हो ।

यस्तै, कोरोना भाईरस नियन्त्रण र त्यसको उपचारका लागि प्रदेशमा उच्चस्तरीय निर्देशन समिति र समन्वय समिति गठन भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा २६ सदस्यीय निर्देशन समिति र प्रमुख सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन भएको हो ।

यसअघि स्वास्थ्य निर्देशनालयको अगुवाईमा पोखराका विभिन्न ४ वटा अस्पतालका ६० बेडलाई कोरोनाको उपचारका लागि तयार गरिएको छ भने आईएनएफमा थप ५० बेड बनाउन लागिएको छ । सरकारले संक्रमण तीब्र रुपमा फैलिएको भन्दै भिडभाड हुने कार्यक्रम र सार्वजनिक सभा सम्मेलन गर्न प्रदेशबासीलाई सुझाएको छ । बैठकले दमौलीमा रहेको शिक्षा तालिम केन्द्रलाई कास्की, म्याग्दी र गोरखामा विस्तार गरेर सबै कार्यालयमा कार्यालय सहयोगी नियुक्त गरेको छ । यस्तै, प्रदेशको पशु पूर्ण खोप कार्यक्रम कार्यविधि संशोधन सहित पास गरेको छ ।

त्यसै गरी सरकारले मन्त्रीपरिषद् बैठकबाट ३ वटा नियुक्ती गरेको छ । ताल विकास प्र्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङलाई नियुक्त गरेको छ । गुरुङले केमेष्ट्रि र कृषिमा पीएचडी पास गरेका छन् ।

यस्तै, प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कास्कीकै ऋषिराम पाण्डेलाई नियुक्त गरिएको छ । उनको तलव तथा सुविधा पनि गुरुङकै सरह हुनेछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्र्रेस संयोजकमा लमजुङका विक्रम न्यौपाने नियुक्त भएका छन् ।

उनलाई मासिक ४० हजार ५ सय तलव, १० हजार रुपैयाँ घरभाडा, ५ हजार यातायात खर्च, ३ हजार संचार खर्च र द्धितिय श्रेणीको अधिकृत सरहको भ्रमण भत्ता पाउनेछन् ।

कमेन्टहरु
Loading...