सार्वजनिक यातायातका चालक र सहचालकलाई निःशुल्क आँखा शिविर हुँदै

पोखरा, १० फागुन /सार्वजनिक यातायातका चालक र सहचालकका लागि निःशुल्क आँखा परीक्षण हुने भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष तथा हिमालयन आँखा अस्पताल पोखराको २५औं वार्षिकोत्सवको अवसरमा फागुन १३ गते आइतबार कार्यक्रम हुन लागेको हो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले लायन्स अन्तर्राष्ट्रिय स्थापनाको १०० वर्षको सन्दर्भमा तय गरेका विभिन्न सय वटा कार्यक्रममध्ये चालक र सहचालकलाई आँखा शिविर गर्न लागिएको हो । डिष्ट्रिक्टको रिजन ४ अन्तर्गतका क्लबहरुको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालको प्राङ्गणमा आइतबार बिहान ८ बजेबाट शिविर हुने रिजन चियरपर्सन तथा कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिए ।

पोखरा क्षेत्रमा रहेका यातायातसँग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । चालक र सहचालकको आँखा शिविर डिष्ट्रिक्टको महत्वपूर्ण कार्यक्रम भएकाले तयारीलाई तिब्र बनाइएको ढुंगानाले जानकारी दिए । यसैक्रममा बिहीबार तयारी बैठक सम्पन्न भएको छ । बैठकमा बोल्दै हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र महर्जनले कार्यक्रम सफल पार्न अस्पतालको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

डिष्ट्रिक्टका सेन्टेनियल प्रोग्राम र सेलेबे्रसन डिपार्टमेन्ट चिफ तथा सिनियर एडभाइजर राजेन्द्रकुमार बाटाजूले चालक र सहचालकका लागि निःशुल्क आँखा परीक्षण आयोजना गरेर समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन लागिएको बताए । साइट फस्ट र भिजन डिपार्टमेन्ट चिफ तथा सिनियर एडभाइजर सुचित्रा थापाले आँखा र लायन्स पर्यायबाची शब्दजस्तै बनेको बताउँदै सचेतना र आँशा शिविरको लक्षित समूह चालक र सहचालक हुनु उपलब्धीपूर्ण रहेको धारणा राखिन् । जोन चियरपर्सन भेषराज पोखरेलले कार्यक्रम सफल पार्न सम्पूर्ण क्लबहरु सक्रिय भएर लाग्ने बताए ।

चालक र सहचालकका लागि आँखा परीक्षण पश्चात आवश्यकता अनुसार चस्मा तथा औषधी निःशुल्क वितरण गरिने ढुंगानाले जानकारी दिए । कार्यक्रमलाई सफल पार्न आवश्यकता अनुसार सहयोग गर्ने गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिका महासचिव अमृत शर्मा तिमिल्सिनाले बताए । सार्वजनिक यातायातका सम्पूर्ण चालक तथा सहचालकहरुलाई शिविरमा उपस्थित भएर आँखा परीक्षण गराउन सार्वजनिक रुपमा आह्वान गरिएको डिष्ट्रिक्टका मिडिया रिलेसन कमिटि मेम्बर तथा कार्यक्रमका प्रचारप्रसार संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...