चुनावी प्रचार छाडेर फेवातालमा देवराज र रवीन्द्र

पोखरा, १ मंसिर /आगामी चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर गफ गरे । एपिवान टेलिभिजनको प्रत्यक्ष कुराकानीमा दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा विकासबारे आफ्ना अवधारणा राखे ।

लगातार दुई संविधानसभा चुनावमा साविक कास्की ३ बाट बिजयी भएका रवीन्द्र अधिकारी र संसदीय प्रतिश्पर्धामा नयाँ अनुहार काँग्रेसका उम्मेदवार देवराज चालिसेबीच बैचारिक छलफल भयो । रवीन्द्रले आफ्ना कार्यकालमा भएका विकासबारे समीक्षा गरेर आगामी एजेण्डा पोखे । उता चालिसे चाहीँ हालसम्मका उम्मेदवारले देखिने गरी काम गर्न नसकेपछि आँफु उम्मेदवार भएको दावी गर्छन् ।

‘विकास गर्ने अवधी हुन्छ । दुई कार्यकालसम्म जनताले विश्वास गरेर पठाएका प्रतिनिधीले काम नगरेपछि तेश्रो पटक उ रोजाईमा पर्दैन, चालिसेले भने–देशका हरेक ठाउँमा तेश्रो पटक नेतृत्व गर्न नपाउने नीतिगत ब्यवस्था हुनुपर्छ । नत्र नेतृत्व हस्तान्तरण हुन सक्दैन ।’ रवीन्द्रचाहीँ कार्यकारी पोष्टमा मात्रै यस्तो ब्यवस्था हुनुपर्ने बताउँछन् । ‘नीतिगत रुपमा निर्णय गर्न सके राम्रै हो । तर नेपालमा यो सम्भावना निकै कम छ, उनले भने–कम्तिमा कार्यकारी पोष्टमा तेश्रो पटक उम्मेदवार नबन्ने वातावरण बनाउनुपर्छ । त्यसमा म पनि सहमत छु ।’

दुवै नेताले फेवातालको संरक्षण र विकासलाई चुनावी एजेण्डाका रुपमा प्रश्तुत गरे । अधिकांश बिषयमा समान एजेण्डा अघि सारेका यि दुई नेताको चुनावी प्रतिश्पर्धा निकै रोचक हुने अनुमान छ । दुवैजना विद्यार्थी जीवनबाट नेपाली राजनीतिमा उदाएका हस्ती हुन् । ‘राजनीतिमा चालिसे जी मेरो गुरु हुनुहुन्छ । उहाँलाई म निकै सम्मान गर्छु, रवीन्द्र भन्छन्–हामी निष्पक्ष र स्वस्थ प्रतिश्पर्धा गर्छौं । जनताले जसलाई रोज्छन्, स्विकार्न तयार छु ।’

चालिसे पनि जनताको मतलाई कदर गर्दै हारजीत स्विकार्ने बताउँछन् । ‘जसका एजेण्डा मन पर्छ । जनताले उसैलाई भोट हाल्ने हो, देवराजले भने–जिते रवीन्द्रजीको सहयोग लिन्छु, हारे रवीन्द्रजीलाई सघाउँछु ।’ एकले अर्कालाई सघाउने विषयमा दुवैजना सहमत छन् । उनीहरुले सडक, खानेपानी, प्राकृतिक श्रोत साधनको संरक्षण र उपयोग, विमानस्थल निर्माण, चक्रपथ लगाएतका साझा एजेण्डालाई प्रमुखताका साथ लिएर जनताको मत माग्ने दौडाहामा छन् ।

यसैबीच, नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मा चुनावी प्रचारका कार्यालय उद्घाटन भएको छ । कार्यक्रममा नेता चालिसेले विकास र समृद्धीका लागि आत्माविश्वास र दृढ संकल्प हुनुपर्ने बताए । प्रदेश सभा (क) का उम्मेदवार गुरु बरालले काँग्रेसलाई मत दिएर लोकतन्त्रको सुरक्षा गर्न आग्रह गरे । ‘यो उम्मेदवारी गुरु वरालको ब्यक्तिगत उम्मेदवारी होईन ।

सबै लोकतन्त्रप्रेमीहरुको उम्मेदवारी हो, उनले भने–तपाईँहरुको यात्रा लोकतन्त्र, राजनीतिक स्थिरता र समृद्धीका लागि हुनेछ भन्ने अपेक्षा छ । त्यो सबैको दायित्व पनि हो ।’ संविधान च्यात्ने र संविधान संरक्षण गर्ने बीचको लडाईँ भएकाले गहनताका साथ लिएर मतदान गर्न उनको आग्रह छ । नेताहरुले शुक्रबार पनि विभिन्न वडाहरुमा घरदैलो गर्दै मतदातासँग भोट मागेका थिए ।

कमेन्टहरु
Loading...