कोरोना भाइरसलाई जित्न प्रम ओलीको जस्तो मनोबल जरुरीः डा.गुरुङ

पोखरा, २४ फागुन/ तमु धिं नेपालले कोरोना भाईरस सम्बन्धी शनिवार पोखरामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विश्वको ९० भन्दा बढी मुलुकमा कोरोना भाईरस फैलिएको र विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिम मुलुक घोषणा गरिसकेको अवस्थामा स्वास्थ्य सचेतना एवम सतर्कताका लागि तमु धिं नेपालले सचेतना कार्यक्रम गरेको हो।

उपचारका लागि औषधि पत्ता नलागिसकेकाले पनि भाईरसका बारेमा विभिन्न समाचारहरु आइरहेको बेला कोरोना भाईरस के हो, लक्षणहरु, कसरी र्सछ, सतर्कताका लागि उपाय के के छन लगायतका विषयमा प्रष्ट भई कोरोना संक्रमणबाट सतर्क रहन र सतर्क गराउन संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै आयोजित कार्यक्रममा क्षेत्रिय समाजहरु, विभिन्न उपसमितिका अगुवाहरुलाई बरिष्ट फिजिसियन डाक्टर नारायणसिंह गुरुङले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा डा. गुरुङले कोरोना भाइरस नयाँ र अन्य भन्दा शक्तिशाली भाइरस भएकाले राज्यले सतर्कता र आम नागरिकले सचेतता अप्नाउनुपर्ने बताउनुभयो। कोरोना शक्तिशाली भाइरस भए पनि यसको संक्रमणको तुलनामा डर, त्रासको सुचना समाचारहरु बढी प्रचारित भएको हो कि भन्नु हुदै संक्रमण र रोगसँग लड्ने इच्छाशक्ति हुनु जरुरी छ, उहाँको भनाई थियो।

सबै रोग डाक्टर र औषधिबाट मात्रै सञ्चो हुदैन, मनोबल दह्रो बनाउन सके संक्रमण होस वा रोगसँग लड्न सकिन्छ भन्नुहुदै नेपालमा कोरोना भाइरस संक्रमण भएको अझै जानकारी नभएको बताउनुभयो। इच्छाशक्ति हाम्रो देशको प्रधानमन्त्री केपी ओलीको जस्तो सबैको भएमा धेरै रोग लगायत कोरोनाहरुसँग सहजै जुध्न सकिने बताउनुभयो। स्वास्थ्यका अवस्थाले प्रम ओली निकै कमजोर भए पनि मनोबलले धेरै स्वास्थ्यको धेरै प्रतिकुलताहरुलाई पनि अनुकलतामा बदल्न सक्नुभएको उदाहरण समेत डा.गुरुङले प्रष्ट पार्नुभयो।

नेपाल कोरोना भाइरसको जोखिम युक्त मुलुक घोषण भईसक्दा पनि विमानस्थलमा समेत ज्वरो नाप्ने व्यवस्था, कोरोना भाइरसको परिक्षणको व्यवस्था, विमानस्थल र सिमा नाकाहरुमा उच्च सर्तकता अपनाउन नसकेकाले नागरिक सचेतना झनै आवाश्यक रहेको उहाँको भनाई थियो। कोरोना भाइरसको औषधि छैन मरिहालिन्छ भने त्रसित हुनु राम्रो होइन भन्नुहुदै भाइरसको शुरु भएको चिनमा संक्रमण पश्चात घर फर्केको सकरात्मक समाचारहरु आईरहेकाले हामी कसरी संक्रमणबाट जोगिने र अरुलाई जोगाउने भन्ने बारेमा सोच्नुपर्ने उहाँको सुझाव थियो।

हात मिलाउने हाम्रो संस्कार होइन, टाढैबाट नमस्कार गर्नुस, अंकमान गर्ने हाम्रो संस्कार होइन हग छोड्नुस, हात साबुन पानीले धोइरहने गर्नुस, पानी उमालेर खाने, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, मासु जन्य खाना नखाने, सुख्खा होइन झोलिलो खाने, भिडभाडमा नजाने, जनावरहरुसँग टाढा रहने, विदेशबाट कोही आउनेहरुले स्वास्थ्य परिक्षण गरिहाल्ने, ज्वरो रुघाखोकी लागेमा चिकित्सकसँग जचाइहाल्न डा.गुरुङको सुझाव छ।

ज्वरो आएमा, रुघाखोकी लागेमा, हाँछ्यु आइरहेमा र सास फेर्न समस्या भएमा चिकित्सकसँग जचाउनु पर्दछ, कोरोना भाइरसले स्वास प्रस्वासबाट फोक्सोमा आक्रमण गर्ने भएकाले धेरै घातक, मुटुलाई चाहिने अक्सिजनको कमीले मृत्यु हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयो।

यदी कसैलाई संक्रमण भई हाले पनि स्वस्थ्य हुन सकिन्छ भन्नुहुदै विरामीलाई मास्क अनिवार्य, बिरामीर्ला छुट्टै कोठाको व्यवस्था, बिरामीबाट अरु केही टाढा रहनु पर्दछ भन्दै अहिलेसम्म कोरोनाले बृद्धबुद्धालाई संक्रमण गरिएको देखिएकाले जेष्ठ नागरिकहरुलाई विशेष ध्यान दिनुपर्ने उहाँको सल्लाह छ। सिंगान, फोहोर हात, खानेकुराहरु, संक्रमित व्यक्तिको सम्पर्कबाट भाइरस सर्ने भएकाले सचेत रहनु पर्दछ भन्नुहुदै उहाँले कोरोना भाइरसले साढे दुई महिनाको अवधिमा संक्रमितको ४ प्रतिशत मृत्युदर भएकाले हामी ९६ प्रतिशत हौं भन्ने सोंच सबैले राख्नु पर्दछ, संक्रमितका कुरा होइन, भाइरसलाई जित्ने मनोबल बनाउन उहाँको जोड थियो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षता र सदस्य गमबहादुर गुरुङले सञ्चालन गर्नुभएको अन्तरक्रियात्मक सचेतना कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासालाई डा.गुरुङले प्रष्ट्याउनुभएको थियो।

कमेन्टहरु
Loading...