कास्की काँग्रेसद्वारा बेपत्ता बरिष्ठ अधिकृत पौडेलको खोजी तिव्र पार्न आग्रह

पोखरा, १५ असार । नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी बेपत्ता भएका पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी कार्य तिव्र पार्न आग्रह गरेको छ ।

बेपत्ता भएको ६ दिन बिति सक्दा पनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायलाई खोजी कार्य तिव्र पार्न आग्रह गरेको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आधुनिक प्रविधि, उपकरण र दक्ष जनशक्ति रहेको अवस्थामा खोजी कार्यमा भैरहेको ढिलाई राजनैतिक आस्थाको आधारमा गरिएको विभेद त होइन ? भन्दै शंका व्यक्त गरिएको छ ।

विज्ञप्तिमा पछिल्ला दिनहरुमा कर्मचारी समायोजनको नाममा गर्न खोजिएको सरुवा त्रास, दबाब, धम्की जस्ता मनोबैज्ञानिक कारणबाट पनि बरिष्ठ अधिकृत पौडेल बेखबर अवस्थामा पुगेको हुन सक्ने भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाल स्थानीय निकाय कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष समेत रहेका बरिष्ठ अधिकृत पौडेल असार ९ गते बिहानदेखि बेपत्ता छन् ।

कमेन्टहरु
Loading...