ने.का क्षेत्र नं २ द्वारा पोखरामा आमसभा

पोखरा, २२ कात्तिक। नेपाली काङ्ग्रेस चुनाव प्रचार प्रसार समिति क्षेत्र नं २ कास्कीले शुक्रबार पोखराको अमरसिंहचोकमा आमसभा गरेको छ। आमसभामा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकको उलेख्य सहभागिता रहेको थियो। आमसभालाई जिल्ला, क्षेत्रीय र केन्द्रीय नेताहरुले सम्वोधन गरेका थिए।

photoपोखराका विभिन्न वडा तथा गाविसहरुबाट कार्यकर्ता र शुभेच्छुकहरु नाराबाजीगर्दै आमसभामा सहभागि हुन आएका थिए। आमसभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले एनेकपा माओवादीलाई कुनै पनि हालतमा दुई तिहाई बहुमत दिन नहुने बताए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संविधान निर्माणका लागिभन्दै दुई तिहाई बहुमत माग्दै हिडेका छन् उनले भने – एमाओवादीलाई दुई तिहाई बहुमत दिएर गम्भीर भुल नगर्नुहोला ।

एमाओवादीलाई दुई तिहाई बहुमत दिए जनताको नभई माओवादीको संविधान बन्ने उनको भनाई थियो। नेता गुरुङले एमाओवादी अध्यक्ष दाहाल सर्वहारा वर्गको नेता नभएको टिप्पणी गरे। आफुलाई सर्वहारा वर्गको नेता भन्ने अध्यक्ष दाहालले चुनावी दौडाहाका क्रममा १३ दिनमा ३२ लाख रुपैया खर्च गरेका छन् उनले प्रश्नगर्दै भने – सर्वहारा वर्गको नेताले त्यत्रो रकम कसरी खर्च गर्न सक्छ?
नेता गुरुङले काङ्ग्रेस धनी वा सर्वहारा वर्गको पार्टी नभएर सवैको साँझा पार्टी भएको स्पष्ट पारे।

उनले जातजातिको कुरा छाडेर संघियतालाई कसरी लैजाने भन्ने विषयमा छलफल केन्द्रीत गरिनुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेसका नेता एवं पुर्वसभामुख तारानाथ रानाभाटले पहिलो संविधान सभाको निर्वाचनपछि संविधान सभा र सरकारको नेतृत्व कम्युनिष्ट शक्तिले गरेका
कारण मुलुकले संविधान पाउन नसकेको बताए । उनले एनेकपा माओवादीका अध्यक्ष दाहालले मुलुकमा कम्युनिष्ट सर्वसत्तावाद लाद्ने प्रयास बाहेक केहि नगरेको आरोप लगाए ।

अहिलेको निर्वाचन मुलुकलाई निकास दिने अवसर हो उनले भने – यस्तो महत्वपुर्ण अवसरलाई सदुपयोग गर्न नसके मुलुक दलदलमा फस्ने छ। उनले फेरी पनि कम्युनिष्ट शक्तिमाथि विश्वास गरे मुलुक असफल बन्ने दावी समेत गरे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले काङ्ग्रेसको जनलहरबाट कम्युनिष्ट शक्ति अत्तालिएको बताए ।

कमेन्टहरु
Loading...