आकस्मिक रक्तदानमा ४१ युनिट रगत संकलन

पोखरा, १९ साउन /हाल पोखरा क्षेत्रमा देखिएको रगतको चरम अभावलाई कम गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखा, पोखरा पिस क्लव र मासबार आमा समूहको संयुक्त आयोजनामा भएको आकस्मिक रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपसभापति डण्डराज शर्माले रगतको चरम अभाव भएका बेला नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखा र यहाँका सामाजिक संघसंस्थाहरुले उक्त अभाव होस् वा अन्य विपद्का बेला सधैं अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै रक्तदान जीवनदान भन्ने आदर्शप्रति सधै प्रेरित भई काम गरेकोमा धन्यवाद दिनुभएको थियो ।

विशेष अतिथि पोखरा लेखनाथ म.न.पा. वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बरालले रेडक्रस तथा अन्य संघसंस्थाहरुले विपद्मा खेलेको महत्वपूर्ण भूमिकाले सिंगो मानव जातिलाई मानवीय कार्यमा अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाका पूर्व सभापति तथा मासबार आमा समूहका सल्लाहकार लेखबहादुर के.सी., नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

मासबार आमा समूहका अध्यक्ष टिकादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा पिस क्लवका अध्यक्ष सुजन बराल, धन्यवाद ज्ञापन नेरेसो पोखरा ७ उपशाखाका सभापति दामोदर बराल र संचालन उपशाखाका सचिव राममोहन आचार्यले गर्नुभएको थियो ।

करिब २ घण्टासम्म चलेको उक्त रक्तदान कार्यक्रममा नुवारथोक टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्था, लायन्स क्लव अफ पिस हिमालयन लगायतका संस्थाहरुले सहयोगी भूमिका खेल्दै रक्तदाताहरुलाई उत्प्रेरित गराएका थिए ।

कमेन्टहरु
Loading...