वैवाहिक खुशीलाई समाज सेवासँग जोड्यो विवेकशील साझाले

पोखरा, ७ पुस /सामान्यतया विवाहमा भव्य भोजभतेर हुन्छ । खर्चिलो पाराले विवाह गर्ने चलन बढिरहेको अवस्थामा विवेकशील साझा पार्टीले केहि फरक सन्देश सहितको भोज आयोजना गरेको छ ।

‘मेनु’ त्यस्तो विशेष केहि थिएन । न थियो बाजा, न सुनिन्थ्यो संगीत । पुसको चिसो विहानमा आश्रममा रहेका असहाय, अनाथ र अपाङ्खहरुलाई खाना खुवाईयो । भोजमा कोहि ठाँटिएर आएका थिएनन् । पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा रहेका ६९ जना आश्रितहरु भोजमा सरिक थिए ।

विवेकशील साझा पार्टी कास्कीले नवविवाहित जोडीद्वय राम गुरुङ र अस्मिता गुरुङसँगै अरुण पौडेल र महेश्वरी बराललाई असहाय तथा वृद्धवृद्धाहरुको साथमा सहभोज गराई दाम्पत्य जीवनको शुभकामना दिएको हो ।

‘विवाहलाई तडकभडक रहित बनाऊँ भन्ने सन्देश दिन पनि हामीले यस्तो गरेका हौँ ।’ कार्यक्रमको व्यवस्थापन लिएका विवेकशील साझा पार्टी कास्कीका सदस्य दिपक पौडेलले भने–‘खुशी र उत्सवलाई मानव सेवासँग जोड्ने हाम्रो प्रयत्न हो ।’

नवविवाहित जोडीहरुले पार्टीले आश्रममा आश्रितहरुसँग सहभोज गराई आफूहरुलाई दिएको शुभकामना गज्जब भएको प्रतिक्रिया दिए । साथै उनीहरुले यसरी सहभोज गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । नवविवाहित राम गुरुङले आश्रितहरुसँग सहभोज गराई आफ्नो विवाहको उत्सवलाई अविष्मरणीय बनाईदिएकोमा पार्टीप्रति धन्यबादी सुनिए । त्यस्तै अर्का जोडी मध्येका अरुण पौडेलले भने–‘अबका हरेक वैवाहिक वर्षगाँठ हामीले यसरी नै असहाय र अनाथहरुसँग सहभोज गरेर मनाउने मैले अठोट लिएको छु ।’

कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश सँयोजक महेश भण्डारीको पनि उपस्थिती रहेको थियो । उनले नवविवाहित दम्पत्तीहरुलाई वैवाहिक जीवनको शुभकामना दिँदै हरेकले आफ्नो विशेष दिनलाई असहायहरुलाई सहयोग गरेर मनाउनुपर्ने धारणा राखे । ‘कुनै पनि उत्सवलाई तडकभडकसँग मनाउनुभन्दा यसरी नै असहायहरुलाई सहयोग गरेर मनाउने हो भने अझै बढि उत्तम हुन्छ ।’ भण्डारीले भने ।

सोहि अवसरमा विवेकशील साझा पार्टी कास्कीकै अर्का सदस्य लता ओझाले आफ्नो जन्मदिन पनि आश्रममै मनाईन् । उनले आश्रमका आश्रितहरुलाई केक खुवाएर आफ्नो जन्मदिन मनाएकी थिईन् । मानव सेवा आश्रमका अभियन्ता राजन सापकोटाले असहाय, अनाथ र अपाङ्खहरुप्रति विवेकशील साझा पार्टीले देखाएको सदाशयताप्रति धन्यबाद ज्ञापन गरे । उनले पार्टीले उनीहरुसँग सहभोज गराई एउटा राम्रो सन्देश दिएको प्रतिक्रिया दिए ।

मानव सेवा आश्रम पोखरामा ६९ जना मनोरोगी, अपागं, असहाय, अनाथ व्यक्तिहरु बस्छन् । २०६९ भदौ १३ गतेदेखि हेटौडाबाट शुरु भएको आश्रम हाल देशको ९ वटा मुख्य शहरहरुमा फैलिएको छ । पोखरामा २०७४ चैत १७ गतेदेखि शुरु भएको आश्रम नवौँ शाखा हो ।

आश्रमका अन्य शाखाहरु चितवन, काठमाण्डौ, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, वीरगंज र बुटवलमा संचालनमा रहेका छन् । आश्रमले कोहि पनि व्यक्ति ‘खाना, नाना र छाना’को अभावमा सडकमा भौतारिएर बस्न नपरोस् भन्ने उद्देश्यसहित काम गर्दै आएको छ । २०८२ भित्र एउटा पनि वेवारिसे मानिस नेपालमा नभेटिऊन् भन्ने उसको लक्ष्य छ

कमेन्टहरु
Loading...