भूकम्पले भत्कीयको फुम्रोखुँ स्कुलको नयाँ भवन उद्घाटन

पोखरा, १६ वैशाख/ भूकम्पले भत्केको कास्की घान्द्रुक–१ को फुम्रोखुँ माध्यामिक विद्यालयको नयाँ भवन बनेको छ । भवन निर्माणका लागि जर्मनीमा रहेकी मेरी थापा श्रेष्ठ नेतृत्वमा संकलन भएको नौ लाख रूपैयाँमा विद्यालयको तीन लाख रूपैयाँ थप गरी नयाँ भवन निर्माण भएको हो ।

भूकम्पले भत्कीयको फुम्रोखुँ स्कुलको नयाँ भवन उद्घाटन
भूकम्पले भत्कीयको फुम्रोखुँ स्कुलको नयाँ भवन उद्घाटन

विद्यालयको ४९ औं वार्षिकोत्सवको अवसरमा भवनको आइतबार मेरीले उद्घाटन गरिन् । भवन उद्घाटन गर्दै मेरीले नेपालमा भूकम्पले धेरै संरचना भत्काएको खवर पाउने वित्तिकै आफूले नेपाल जर्मन समाज परिवारमार्फत आर्थिक संकलन गरेको बताइन् । संकलित रकम दाजु तीर्थ श्रेष्ठको पहलमा फुम्रोखुँमा सहयोग गरेको जानकारी दिँदै मेरीले थप सहयोग गर्दै जाने विश्वास दिलाइन् ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले भूकम्पको कम प्रभाव परेको जिल्ला कास्कीमा फुम्रोखुँ जस्ता विद्यालय उपेक्षामा परेको भन्दै सहयोगका लागि पहल गरेको बताए । अधिकांश दलित विद्यार्थी अध्ययनरत विद्यालय थप व्यवस्थित गर्दै संकुचित नभइ शिक्षा दिन उनले आग्रह गरे ।

सोही अवसरमा विद्यालयको अवलोकन गर्दै जर्मनी नागरिक मिख्टेल र सुरज श्रेष्ठले शौचालय निर्र्माणका लागि १ लाख ५० हजार सहयोग प्रदान गरेका छन् । विद्यालयले वार्षिकोत्सवका अवसरमा भूकम्पले विद्यालय भत्केलगत्तै टहरा निर्माणमा सहयोग गर्ने सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, भवन निर्माणदाता मेरी, कल्याणशेरचन स्मृति प्रतिष्ठान, कवि तीर्थ श्रेष्ठलगायतलाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक दीपक क्षेत्रीले जानकारी दिए ।

विद्यालयमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले १७ लाखको लागतमा तीन कोठे पक्की भवन र शौचालय बनाएर हस्तान्तरण गरिसकेको छ । जिल्ला शिक्षा कार्यालयको ६० लाख सहयोगमा ८ कोठे पक्की भवनको जग खन्ने काम सकिएको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोरण क्षेत्रीले जानकारी दिए । २०१९ सालमा खुलेको विद्यालयमा २ सय ६० विद्यार्थी अध्ययनरत छन् ।

कमेन्टहरु
Loading...