भूकम्पबाट कम प्रभावीत जिल्लामा अनुदान दिन सुरु, कास्की लुम्ले बासीले पाए पहिलो किस्ता

सागर राज तिमिल्सिना
पोखरा, २१ चैत/सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लामा सोमबार देखी पहिलो किस्ताको रकम वितरण गर्न सुरु गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले कास्कीको अन्नपुर्ण गाउँपालिकाको लुम्लेबाट वितरण सुरु गरेको हो । नीति आवास पुर्ननिर्माण अनुदान सम्झौता तथा पहिलो किस्ता वितरण कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले अन्नपुर्ण गाउँपालिकाका बरे विकलाई पहिलो किस्ताको रकम दिदै सुरुवात गरे ।

दुई वर्ष अगाडी बैशाख १२ र २९ गते गएको भुकम्पका कारण १४ जिल्लामा बढि प्रभावित बनाएको भने १७ जिल्लामा कम प्रभावित पारेको थियो । प्राधिकरणले कास्कीको लुम्लेका ५० घर धनीहरुलाई ५० हजार रुपैया पहिलो किस्ता बापत दिएको छ । भूकम्पबाट घर पुर्ण क्षती भएहरुलाई सरकारले ३ किस्तामा ३ लाख रुपैया दिने छ । सरकारले भूकम्पले क्षति पु¥याएका संरचनाबारे गरेका सर्बेक्षणबाट कास्कीमा १० हजार ७ सय ४९ घरधुरीलाई अनुदान दिने निर्णय भएको छ ।

पहिलो चरणमा कास्कीका २ सय ५० जनालाई अनुदानको पहिलो किस्ता दिइने पोखरेले बताए । उनले घर बनाउदा भूकम्प प्रतिरोधात्मक बनाउनु पर्ने बताए । भूकम्प प्रतिरोधात्मक नभएमा सरकारले अन्य किस्ताको रकम रोक्नुका साथै कार्वाही समेत गर्ने बताए । हालसम्म भूकम्पले अति प्रभावित १४ जिललमा मात्रै पुनर्निर्माणको पहिलो किस्ताको रकम वितरण हुँदै आएको थियो ।

कम प्रभावित जिल्लामा कास्की सहित तनहुँ, पर्वत, लम्जुङ, स्याङजा, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, चितवन, नवलपरासी, अर्घाखाँची, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा र धनकुटा छन् । ती जिल्लामा १५ हजार ७ सय ४३ घरधुरीमा आंशिक क्षती पुगेको तथ्याङक छ ।

कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय भूकम्पीय आवास पुर्ननिर्माण आयोजनाका उप निर्देशक नारायण श्रेष्ठले घरका विभिन्न डिजाइन मध्ये रोजेर भूकम्प प्रतिरोधात्मक घर नै बनाउनु पर्ने बताए । कार्यक्रममा सभासद् सिता गिरी, कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल लगाएतले अन्य घर घुरीलाई पनि छिटै रकम आउने बताए ।

कमेन्टहरु
Loading...