अपाङ्गताको मानवअधिकार प्रति ध्यान दिन आग्रह

पोखरा, ८ भदौ/ अपाङ्गता भएका व्यक्तिको मानवअधिकार संरक्षण र संवद्र्धनमा सरोकावालाहरुले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

स्वाबलम्बन जीवन पद्धति केन्द्रको आयोजना र जाइकाको सहयोगमा आयोजित अपाङ्गता सवालमा बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, त्यसको कार्यान्वयन र चुनौतीको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्गताका समस्याको पहिचान र समाधानमा विशेष पहल नभएको गुनासो गरे ।

विशेष गरी बौद्धिक अपाङ्गता भएकाहरुको सवालमा सहभागिहरुले धेरै प्रश्न उठाएका थिए । बौद्धिक अपाङ्गता भएकाहरुको परिक्षण वैज्ञानिक हुन नसक्नु र सामान्य प्रश्नका आधारमा हुने परीक्षणले अपाङ्गताको अवस्थालाई उजागार गर्ने नसकेको सहभागिहरुले बताए ।

पहुँच युक्त पूर्वाधारको अभाव र सकारात्मक दृष्टिकोणको अभावले अपाङ्गता भएका व्यक्तीको मानवअधिकारलाई कुण्ठित गरीरहेको सहभागीको भनाइ थियो । सहभागिहरुले अपाङ्गताका सवाल बनेका नीति नियम पूर्णत कार्यान्वयन नहुँदा अधिकार कागजमा मात्र सिमित भएको गुनासो गरे । सामाजिक संरचना भन्दा अगाडि मानवीय सोचनै अपाङ्गता भएकाहरुको लागि बाधक भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा स्वाबलम्बन जीवन पद्धतिका अध्यक्ष हेम गुरुङ, महासचिव अञ्जना के.सी ले राष्ट्रिय अन्तराष्ट्रिय काुनन र कार्यान्वयनको विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा स्वाबलम्बन जीवन पद्धतिक एवं जाइका प्रतिनिधि जापानी नागरिक टेसाइ सुफान इकेदा, निशिहारा हायासाले अपाङ्गताको समस्या र भोगाइ उस्तै भए पनि जापानमा राज्यले उनीहरुको मानवअधिकार प्रति संवेदनशीलता अपनाएर काम गरेको बताउनुभयो ।

सोहि अवसरमा अपाङ्गता भएकाहरुका आवाज मिडिया मार्फत उजागार गरेको भन्दै रासस कर्मी जमुना वर्षा शर्मा र अपाङ्ग मैत्री भौतिक संरचना निर्माण गरेको भन्दै मिड टाउन ग्यालरीका संचालक उत्तम द्धालाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...