अपाङ्गता भएका व्यक्तिलाई महानगरले परिचयपत्र वितरण गर्ने

पोखरा ३ माघ / अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पोखरा महानगरपालिकाबाट वितरण हुने भएको छ । महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिका मातहत आएपछि अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण महानगरले गर्ने भएको हो ।

परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नबन्दा अपाङ्गता भएका ब्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन्् । महानगरले अपाङ्गता भएका ब्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरे लगत्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको छ ।

उपप्रमुख गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएसंगै परिचयपत्र वितरणको प्रक्रिया सुरु भएको हो । समितिको बुधबार बसेको पहिलो बैठकले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । बैठकले अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयको सिफारिस पत्र, सम्वन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकताको प्रमापणपत्रको प्रतिलिपी र फोटो सहित महानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेश गर्नुपर्ने छ । पेश भएका निवेदन उपर प्रत्येक महिनाको अन्तिम सोमबार छलफल गरि अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताइन् ।

सरकारले अपाङ्गतलाई चार समुहमा विभाजन गरेको । चार समुहका अपाङ्गता भएका ब्यक्तिलाई फरक फरक रंगको परिचयपत्र वितरण गर्ने प्रमुख शर्माले बताइन् । पूर्ण अशक्त अपाङ्गता भएका व्यत्तिले रातो, अति अशक्त अपाङ्गता भएका ब्यक्तिले निलो, मध्यम अपाङ्गता भएका ब्यक्तिले पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...