अन्नपूर्ण गाउँपालिकाका विकास योजना अनुगमन

पोखरा, ६ असार /कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको जिल्ला समन्वय समितिको एक टोलीले स्थलगत अनुगमन गरेकोछ । टोलीले संङघ, प्रदेश र स्थानीय सरकारबाट आर्थिक बर्ष २०७५।०७६ मा बजेट विनियोजन गरि निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्म एक दर्जन भन्दा बढी विकास निर्माण योजनाको अनुगमन गरेको हो ।

सो अवसरमा नाउँडाँडा, अधिकारीडाँडा हुँदै कार्कीतहरा सडक, नागडाँडा सेराचौर ग्रामीण सडक, शेराचौर एक घर एक धारा खानेपानी योजना,कांँडे, भदौरे, सल्यान ग्रामीण सडक, विभिन्न वडा कार्यालय भवन, स्वास्थ्य चौकी लगायत सितल गुफाको समेत अवलोकन गरिएको थियो ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्रीले स्थलगत अनुगमन पश्चात उपभोक्ता समिति एवम् जनप्रतिनिधिहरुसंग विकास निर्माणका बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता व्यक्त गरे ।

विकास निर्माणमा स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले प्राविधिकले तोकिएको मापदण्ड अनुसारको काम भए नभएको निगरानी राख्नु पर्नेमा जोड दिए ।अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाका सवै बडामा विकास निर्माणको काम तिब्र रहेको उल्लेख गर्दै विनियोजित रकमको ७० प्रतिशत भन्दा बढी खर्च भईसकेको जानकारी दिए ।

समन्वय सदस्य तोरण वानियाका अनुसार प्राविधिक सहितको टोलीले यस अघि जिल्लाका रुपा, मादी, र माछापुच्छे्र गाउँपालिकाको स्थलगत अनुगमन गरिसकेको छ ।टोलीमा समन्वयका पदाधिकारी तथा सदस्यहरु, समन्वय अधिकारी, प्राविधिक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...