अन्नपूर्ण प्राविमा बालशिशु स्याहार केन्द्र स्थापना

पोखरा, २३ माघ÷कास्कीको पर्यटकीय गाउँ ल्वाङघलेल गाविस वडा नं ५ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा बालशिशु स्याहार केन्द्र स्थापना गरिएको छ । ग्रामीण भेगका विद्यालयमा बालशिशुहरूलाई गुणस्तरीय शिक्षा दिन नेपालमा स्वयसेवीका रूपमा कार्यरत बेलायती नागरिक क्याथी (माया) को आर्थिक सहयोगमा सो केन्द्र स्थापना गरिएको हो ।

क्याथीले करीब तीनलाखको लागतमा बालशिशु स्याहार केन्द्रको भवन तथा आवश्यक सामग्रीसमेत सहयोग उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक दण्डपाणी गौतमले जानकारी दिए । यसैबीच बिहीबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी बालशिशु स्याहार केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रका निर्माणकर्ता बेलायती नागरिक क्याथी र स्थानीय युवा समाजसेवी रामबहादुर गुरुङले केन्द्रको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

त्यसक्रममा क्याथीले ग्रामीण भेगमा आएर स्वयंसेवीका रुपमा सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । उनले आउँदा दिनमा पनि विद्यालय र बालशिशु केन्द्रलाई आवश्यक पर्ने सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् । युवा समाजसेवी रामबहादुर गुरुङले विदेशीहरुले नेपालीलाई गरेको सहयोगको सही सदुपयोग हुनुपर्नेमा जोडदिंदै क्याथीले गरेको सहयोगबाट स्थानीय शिशु विद्यार्थीहरुको शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अन्नपूर्ण प्राथमिक विद्यालय व्यवस्थापन समितिक अध्यक्ष पूर्णभद्र ढुङ्गनाको सभापतित्वमा भएको कार्यक्रममा लाहाचोक श्रोत केन्द्रका श्रोतव्यक्ति शिवराज लम्साल, विद्यालयका प्रधानाध्यापक दण्डपाणी गौतम, शिक्षक दीपक ढुङ्गना, युवा समाजसेवी शिवप्रसाद भण्डारीलगायतका वक्ताहरुले शिशु स्याहार केन्द्र व्यवस्थित भएकोमा खुशी व्यक्त गर्दै केन्द्रको उचित व्यवस्थापन गरी गाउँमा नै मन्टेश्वरी
शिक्षा उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरेर क्याथीले गाउँप्रति नै ठूलो गुण लगाएको बताएका थिए ।

कमेन्टहरु
Loading...