अन्नपूर्ण हिमपहिरोमा हराएका एक जनाको शव भेटियो, शनिबार पोखरामा ल्याइयो

पोखरा, १७ फागुन / अन्नपूर्ण पदमार्गमा माघ ३ आएको हिमपहिरोमा पुरिएर वेपत्ता भएका ७ मध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित देउराली नजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरी भुजेलले जानकारी दिए । उनको शव हेलिकप्टर मार्फत शनिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा ल्याएको बताए ।

वेपत्ताको खोजीमा जुटेका सरोजका दाई सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले शव निकालेको थियो । चितवन घर भएका सरोज एक चिनियाँ पर्यटक लिएर अन्नपूर्ण आधार शिविर जाँदैगर्दा बाक्लो हिमपात भएपछि देउराली भन्दा माथि जान नसकेपछि फर्कने क्रममा हिंकु केभ नजिकैको हिमपहिरोमा पुरिएका थिए ।

उनको साथमा भएकी चिनियाँ पर्यटक हिमपहिरोबाट उम्कन सफल भएकी थिइन् । हिमपहिरोमा पुरिएका अन्य ४ कोरियाली नागरिक र २ नेपाली गाइड र पोर्टर अझैं वेपत्ता छन् । हिमपहिरोपछि ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), प्रहरी, सेना र स्थानीय होटल व्यवसायी उद्दारमा खटिएपनि बाक्लो हिउँ जमेकोले वेपत्ताको अवस्था पत्ता लागेको थिएन ।

कमेन्टहरु
Loading...