उत्पादनमा नजोडिने सहकारी हुन सक्दैन ः सचिव ढकाल

पोखरा, २२ मंसिर / गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूतप्रसाद ढकालले सहकारीहरुलाई उत्पादनमा जोडिन आग्रह गरेका छन् । परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले उत्पादनसँग नजोडिने सहकारी बास्तबिक सहकारी हुन नसक्ने बताएका हुन् ।

गण्डकी प्रदेशले एक सहकारी, एक उत्पादन नीति लिएको भन्दै उनले यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए । त्यसलाई सफल बनाएर सहकारीको उपादेयतासमेत पुष्टी गर्नुपर्ने उनको भनाई थियो । सहकारीले ब्याजमा ऋण लगाएर मात्र सहकारीको औचित्य पुष्टी नहुने भएकाले उत्पादनसँग जोडिएर सहकारीको भूमिकासमेत पूरा गर्न उनले आग्रह गरे ।

कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारीहरु सहकारीको नीति, सिद्धान्त र त्यसका मान्यतामा अडिग रहेर चल्नुपर्ने बताए । पोखरा महानगरपालिकाका सहकारी विभाग प्रमुख तेजनारायण अधिकारीले महानगरले सहकारी नीति बनाएकाले सो नीति अनुरुप कार्य गर्न आग्रह गरे ।

सहकारीको साधारणसभाको अवसरमा सहकारीको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गोविन्द सुवेदीलाई सम्मान गरिएको थियो । उनलाई नगद ११ हजार ५ सय ५५ राशीसहित दोषल्ला र सम्मानपत्रले ‘परिचय आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूतप्रसाद ढकाल, सहकारीका अध्यक्ष दीपक तिमिल्सिना लगायतले सम्मान गरेका थिए ।

सम्मानित पत्रकार सुबेदी नया पत्रिका दैनिकका गण्डकी प्रदेश ब्यूरो प्रमुख हुन् । सम्मानपछि बोल्दै सम्मानित व्यक्तित्व गोबिन्द सुबेदीले सम्मानले आफूलाई थप जिम्मेवारी थपेको र सहकारीको क्षेत्रमा कलम चलाउन थप प्रोत्साहित गरेको बताए ।

३४१ सदस्य रहेको सहकारीको कुल चुक्ता शेयर पुँजी ३ करोड ५८ लाख ९५ हजार ६ सय, संकलन बचत १ अर्ब, ६६ करोड, ३६ लाख ४५ हजार र सहकारीले यस वर्ष खुद नाफा ३७ लाख ७२ हजार ६ सय ६६ रुपैयाँ गरेको सहकारीले जनाएको छ ।

अध्यक्षमा पुनः तिमिल्सिना

परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः दीपकप्रसाद तिमिल्सिना चयन भएका छन् । संस्थाको सातौं साधारणसभा तथा तेश्रो अधिवेशनले संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष तिमिल्सिनालाई पुनः तेश्रो कार्यकालका लागि सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा यदुनाथ बञ्जारा, सचिवमा बलराम बडाल र कोषाध्यक्षमा उमा सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा झलककुमारी थापा, खुमलाल डुम्रे, तेजकुमार अग्रहरी चयन भए । यसैगरी लेखासमिति संयोजकमा झविलाल अधिकारी, सदस्यमा खेमराज पौडेल र रश्मी कोइराला न्यौपाने तथा शिक्षा समिति संयोजकमा लालप्रसाद ढकाल र सदस्यमा बसन्त अधिकारी निर्वाचित भए ।

कमेन्टहरु
Loading...