हरितालिका तीज महोत्सव–२०७० एवं दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरा, ७ साउन/नव आदर्श सामुदायिक विकास समाज, लामाचौर पोखराले संस्थाको १७ औ वार्षिकोत्सवको अवसरमा यस वर्ष पनि हरितालिका तीज महोत्सव २०७० एवं दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । “मौलिक सस्कृतिको जर्गेना गरौ” भन्ने उद्घोषका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा हुने सो महोत्सव भदौ २१, २२ र २३ गते लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी उच्च मा.वि.को परिसरमा हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

विभिन्न सामाजिक क्रियाकलापमा जुट्दै आएको यस संस्थाले वार्षिकोत्सवको रुपमा विभिन्न खेलकुद, मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ । सोहीअनुरुप यस पटक पनि महोत्सवको थप आकर्षणका रुपमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने प्रचारप्रसार संयोजक सञ्जयकुमार अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा खेलकुद जगत्मा ख्याती प्राप्त गरिसकेका राष्ट्रिय महिला खेलाडीको उपस्थित रहने छ ।

हरितालिका तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगितासहित अन्तर मा.वि. छात्रा भलिबल, अन्तरमा.वि लोकनृत्य, तीजगीत, पत्रकार दौड, महिला म्युजिकल चियर, घैटो फुटाउने, वुद्धिचाल, जिल्लास्तरीय सितेरियो कराँते प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन् । यस वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पोखराको ज्ञानुबाबा उच्च मा.बि. र टप्स उच्च मा.बि.सहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, न्यु डायमण्ड स्पोर्टस् क्लब, काठमाडौले सहभागिता जनाउने संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जनाउनुभयो । उहाँका अनुसार अरु टिमहरुसँग पनि सहभागिताको लागि समन्वय भैरहेको छ ।

प्रतियोगितामा पोखराबाहिरबाट राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने टिमको आवासको व्यवस्था गरिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताउनुभयो । पोखराका टप्स उच्च मा.वि.र ज्ञानुबाबा उच्च मा. वि. लाई भने प्रोत्साहनस्वरुप तयारी खर्चको लागि प्रतिविद्यालय सात हजार र दुई÷दुई वटा बल हस्तान्तरण गरिएको छ । उक्त रकम तथा बल संस्थाका अध्यक्ष क्षेत्रीले टप्सका संस्थापक प्राचार्य रत्नमान गुरुङलाई र ज्ञानुबाबाका लागि विद्यालयका संस्थापक शुभकन्या गुरुङलाई सो अवसरमा हस्तान्तरण गर्नुभयो ।

२०५४ सालदेखि नै वार्षिकरुपमा आयोजना गरिदै आएको छात्रा भलिवल प्रतियोगिता सम्भवतः पोखराकै एकमात्र कार्यक्रम हो । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार १०१, द्वितीयलाई ३० हजार १०१ र सेमिफानलिष्ट दुई टिमलाई प्रतिटिम १० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी तथा अन्य छ विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । अन्तर मा.वि. छात्रा भलिबल नगद पुरस्कार प्रथमलाई रु.२५ हजार १०१, द्वितीयलाई १५ हजार १०१ र सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।

अन्तरमहिला समूह तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार १०१, द्वितीय १० हजार १०१, तृतीय सात हजार १०१ र सान्त्वना पुरस्कार पाँच समूहलाई प्रतिसमूह दुई हजार, उत्कृष्ट भेषभुषा पुरस्कार दुई हजार एक, उत्कृष्ट वृद्ध नर्तकीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । अन्तरविद्यालय लोकनृत्य प्रतियोगितातर्फ प्रथम १५ हजार १०१, द्वितीय १० हजार १०१, तृतीय सात हजार एक तथा सान्त्वना पुरस्कार तीन समूहलाई प्रतिसमूह तीन हजारको व्यवस्था गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषाको लागि आकर्षक पुरस्कार रहेको छ ।

बुद्धिचाल (चेस) प्रतियोगितातर्फ प्रथमलाई दुई हजार पाँच सय, द्वितीय दुई हजार र तृतीयलाई १५ सय पुरस्कार रहेको छ । महोत्सवमा महिला म्युजिकल चियर, पत्रकार दौड, घैटो फुटाउने, टायरमा बल छिराउने तथा रस्साकसीजस्ता अन्य कार्यक्रममा पनि आकर्षक पुरस्कार ब्यवस्था गरिएकोछ । महोत्सवलाई थप आर्कषक बनाउनको लागि बाल उद्यानको व्यवस्था गर्नुका साथै विभिन्न ब्यवसायिक र बस्तु प्रवद्र्धनका लागि २० वटा स्टलको ब्यवस्थापन गरिएको छ । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ ।

महोत्सवमा कूल १७ लाख ४५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । संस्थाले महोत्सवबाट बचत रकम अघिल्ला वर्षमा झै यस पटक पनि आकस्मिक सेवा एम्बुलेन्स तथा शवबाहन सेवामा खर्च गर्ने जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीको संयोजकत्वमा मूलआयोजक समिति तथा १९ वटा उपसमिति, समन्वय समिति तथा सल्लाहकार समिति गठन गरेको जनाएको छ ।

पोखराको बृहत तथा ऐतिहासिक यस महोत्सव मौलिक संस्कृतिको जगेर्ना तथा खेलकुद विकासको महत्वपूर्ण भूमिका निर्वाहका साथै पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको ठहर छ । संस्थाका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सचिव लक्ष्मी पाण्डेले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य प्रचारसंयोजक सञ्जकुमार अधिकारीले व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्सवका अर्थ संयोजक बमबहादुर गुरुङ, सुरक्षा संयोजक नवराज थापा, नेपाल पत्रकार महासंघका सहसचिव विभु भुषाल, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, टप्स उच्च माविका संस्थापक प्राचार्य रत्नमान गुरुङ, ज्ञानुबाबाका संस्थापक शुभकन्या गुरुङलगायतले महोत्सवको सफलताको कामना गरेका थिए । नवआदर्श सामुदायिक विकास समाजले लामाचौरमा सिआरभी सञ्चालन गर्दैआएको छ भने यस वर्षदेखि समाजले नवआदर्श फुटबल एकेडेमी पनि सञ्चालन गरेको छ ।

कमेन्टहरु
Loading...