सम्पति शुद्धिकरण निवारणबारे अन्तरक्रिया कालो धनलाई सेतो बनाउने प्रवृत्ति बढ्दो

पोखरा,१० माघ/पोखरा उद्योग बाणिज्य संघ तथा अर्थमन्त्रालय अन्तर्गतको सम्पती शुद्धिकरण अनुसन्धान विभागको संयुक्त आयोजनामा पोखरामा सम्पति शुद्धिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले नेपालमा पनि कालो धनलाई सेतो बनाउने प्रवृत्ति बढ्दै गएको बताए । नेपालमा कालो धनलाई सेतो बनाउनको लागि कालो धन्दा र गैरकानूनी क्रियाकलापहरु बढ्दै गएको उनको भनाइ थियो । नेपालबाट पूँजी पलायन गरी कालो धनलाई सेतो बनाउने प्रवृत्ति बढ्दै जाँदा रोकथामको लागि ठूलै पहल गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । सम्पति शुद्धिकरण अनुसन्धान विभागले कालो धनलाई सेतो बनाउने विभिन्न २२ प्रवृत्तिको पहिचान गरी १२ वटा विषयमा अनुसन्धान थालेको उनले जानकारी दिए । सीमा क्षेत्रका वैंकहरुबाट पैसा बाहिरिने क्रम बढेको जनाउँदै उनले विभागले विभिन्न १७ वटा सम्पति शुद्धिकरणका मुद्धाहरुलाई अदालतमा पठाएको बताए ।

कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले सम्पति शुद्धिकरण निवारणको लागि जनचेतना फैलाउनु पर्नेमा जोड दिए । केहीले अन्जानमा नै कर नतिर्ने गरेको उनको भनाइ थियो । सम्पति शुद्धिकरण निवारण सम्बन्धीका कानूनी प्रावधानबारे जानकारी दिँदै विभागका निर्देशक विश्वप्रसाद सुवेदीले नेपालले हस्ताक्षर गरेका विभिन्न अभिसन्धी कार्यान्वनयको लागि पनि सम्पति शुद्धिकरण निवारण कार्यलाई अगाडि बढाउनु परेको बताए ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले सम्पति शुद्धिकरण निवारण अभियानबारे तल्लो तहसम्म जानकारी पु¥याउनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख शैलेश थापाले सम्पति शुद्धिकरण अनुसन्धान विभागको काम प्रभावकारी हुन नसकेको र सो विभाग काम गर्ने हैन कि काम गराउने विभाग बन्न पुगेको बताए ।

कास्कीका प्रमुख मालपोत अधिकृत रघुनाथ अधिकारीले गैरकाूनी आर्जन चोख्याउन  घरजग्गाको बढी मूल्याङ्कन गरिने गरेको  बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी  यादवप्रसाद कोइरालाले नेपालमा कर तिर्ने हैन कि लुकाउने प्रवृत्ति बढेको टिप्पणी गरे । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लक्ष्मणबहादुर बस्नेत, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, महासचिव नारायण कोइराला,  सिटी डेभलपमेण्ट वैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी लगायतले सम्पती शुद्धिकरणमा सरकार बेलैमा सचेत हुनु पर्ने बताए ।

कमेन्टहरु
Loading...