विमानस्थलका लागि जग्गा प्रदान गर्न आग्रह

पोखरा, २९ चैत ः पोखराको फेवा किनार स्थित बसुन्धरा पार्कमा दशौं फेवा नववर्ष महोत्सव २०७० विहिवारबाट सुरु भएको छ । पर्यटन तथा नागरिक उड्डयन सचिव सुशिल घिमिरेले महोत्सवको उद्घाटन गर्दै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो उहाँले राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीलाई जग्गा अधिग्रहणका लागि सघाउन आग्रह गर्नुभयो । जग्गा अधिग्रहणका सन्दर्भमा व्यवहारिकतालाई बुझिदिन स्थानीय जग्गा धनीहरुसँग आग्रह गर्दै उहाँले जग्गाधनीहरु व्यवहारिकता भन्दा बाहिर गए सरकार अप्रिय निर्णय लिएर भए पनि जग्गा अधिग्रहण गरी विमानस्थल बनाउन बाध्य हुने बताउनुभयो ।
नेपाल आउने पर्यटकको बसाई अवधि लम्ब्याउने तर्फ समेत सरकारले नयाँ कार्यक्रमहरु ल्याउने जानकारी उहाँले दिनुभयो । त्यसअघि आगामी तीन चार हप्ता भित्र नेपाल पर्यटन बोर्डले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने दावी समेत उहाँले गर्नुभयो । नेपालको पर्यटनका लागि सबैभन्दा घातक पक्ष बन्द, चक्काजाम र हड्ताल जस्ता कार्यक्रम भएको बताउँदै उहाँले त्यस्ता

कार्यक्रम नगर्न सम्वन्धित पक्षसँग आग्रह गर्नुभयो । फेवा तालको संरक्षणको लागि स्थानीयवासी नै बढी सक्रिय हुनुपर्ने भनाई उहाँले राख्नुभयो । यसअघि विभिन्न आमा समूह, जातजातिको झाँकी र सांस्कृतिक ¥यालीसहित स्थानीय खहरेचोकबाट निस्केको ¥याली करिव तीन किलोमिटर दक्षिणको बसुन्धरा पार्कमा पुगी महोत्सव उद्घाटन कार्यक्रममा परिणत भएको थियो । पर्यटन, संस्कृति र खानालाई मुख्य केन्द्रमा राखी आयोजित महोत्सवले फेवा तालको संरक्षणमा टेवा पु¥याउने प्रमुख उद्धेश्य लिएको महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिनुभयो । वैशाख दुई गते सम्म चल्ने महोत्सवका आन्तरिक पाहुनालाई लक्षित गरी संघले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनुभयो । महोत्सवमा १५ वटा खानाका स्टल र ४५ वटा अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहेको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व सभासद राजकाजी गुरुङले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बने बढी भन्दा बढी विदेशी पर्यटक पोखरा भित्र्याउन सहज हुने र देशको अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुग्ने भनाई राख्नुभयो । अर्का पूर्व सभासद रविन्द्र अधिकारीले लोडसेडिङका कारण पर्यटन लगायत अन्य क्षेत्रले अहिले ठूलो समस्या भोग्नुपरेको बताउँदै यसलाई समाधान गर्नेतर्फ सरकार र जनता सबैको उत्तिकै पहल जरुरी पर्ने भनाई राख्नुभयो । नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटाले लेकसाइडलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले पर्यटनलाई उद्योगको मान्यता प्रदान गरी सोही अनुसारका सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । कास्कीका सहायाक प्रमुख जिल्ला अधिकारी अन्तरवहादुर सिलवालले सांस्कृतिक पक्षका कारण फेवा महोत्सव अन्य भन्दा फरक महोत्सव रहेको बताउनुभयो ।

महोत्सवमा देशविदेशका खाना, बैंकहरुका स्टल, दोहोरी गीत र कन्सर्ट, डुंगा दौड, पर्यटक दौड, वाल उद्यान जस्ता पक्षहरु समेटिएको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सवको प्रायोजकहरुमा गोर्खा व्रुअरीको सानमिगल वियर, रोलिङ रिभरको एफ्टर डार्क ह्वुस्की, म्याजिक मोमेण्ट भोड्का, अजवको आइक्रिम, वर्जर पेन्ट्स र होटल संघ नेपाल रहेका छन् । नेपाल पर्यटन वोर्ड महोत्वको प्रवद्र्धक रहेको छ ।

कमेन्टहरु
Loading...