छोरीले शुरु गरिन् प्रचण्डको दस्ताबेजमा छलफल ‘भ्रष्ट’ ठहरिएका कमान्डरसमेत बन्दशत्रमा

47

२३ माघ, हेटौंडा। एमाओवादीको महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले आफ्नो समूहको निश्कर्ष प्रस्तुत गर्ने क्रम मंगलबार बिहानबाट शुरु भएको छ । बिहानको खाना खाने बेलासम्म १४ जनाले आफ्नो समूहको धारणा राखेका छन् ।

यसलाई संयोग नै मान्नुपर्छ, प्रचण्डको प्रतिवेदनमाथि मत राख्ने पहिलो व्यक्ति आफ्नै छोरी रेणु दहाल पर्नुभएको छ । रेणु एक नम्बर समूहको नेतृ भएकाले उहाँले सबैभन्दा पहिले आफ्नो समूहको धारणा राख्नुभएको हो । उहाँपछि समूहगतरुपमा क्रमश जनक बूढा, रमेश मल्ल, त्रिलोचन भट्ट, डीपी ढकाल, चन्द्रबहादुर थापा (सागर), बाबुराम गौतम, उषा देवकोटा, गणेश रेग्मी, श्यामकुमार श्रेष्ठ(कुशल), वीरबहादुर कुँवर, उज्वल, नरबहादुर विष्ट र टेकबहादुर रावलले आफ्नो धारणा राखेका छन् ।

प्रतिनिधिहरुले धारणा राख्ने क्रममै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले करिब ४० मीनेट समय लिएर आफ्नो मौखिक विचार राख्नुभएको थियो । १४ जना समूह नेताले बोलेपछि खाना खान दुईघण्टा बैठक स्थगनको घोषणा गरिएको छ ।

पन्तलाई ‘अपराधी’ भन्दै पक्रन माग

बन्दशत्रमा सहभागी प्रतिनिधि रमेश पन्तलाई ‘अपराधी’ भन्दै अर्का प्रतिनिधि गणेश रेग्मीले उनलाई हलभित्रैबाट पक्राउ नगरिए आफैंले पक्राउ गर्ने बताएका छन् ।
रेग्मीले मजदुर नेता शालिकराम जमरकट्टेलमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने पन्त महाधिवेशनमा भाग लिइरहेको र सरकारको संरक्षणमा अहिलेसम्म पक्राउ नपरेकोमा आपत्ति जनाए । उनलाई महाधिवेशनबाट तत्काल बाहिर निकालेर पक्राउ नगरिए आफैले समात्ने रेग्मीले बन्दशत्रमा बताए । रेग्मीले ९ नम्बर समूहको निश्कर्ष बन्दशत्रमा प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘भ्रष्ट’ ठहरिएका कमान्डरसमेत बन्दशत्रमा

गत साउनमा भृकुटीमण्डप बैठकमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका जनमुक्ति सेनाका कमान्डरहरु छानविन प्रतिवेदनमाथि टुंगो नलाग्दै महाधिवेशनको बन्दशत्रमा भाग लिइरहेको भन्दै केही सहभागीले समूहगत छलफलमा प्रश्न उठाएका छन् । छानविन नै नटुंगी यिनीहरुको कारवाही कहिले फुकुवा भयो र बन्दशत्रमा प्रवेश गरे भन्दै लडाकू प्रतिनिधिहरुले प्रश्न उठाएको एक प्रतिनिधिले अनलाइनखबरसँग भने ।

भ्रष्टाचारसम्बन्धी छानविनमा सजिलो होस् भन्दै साउनमा राजीनामा दिने १२ कमान्डरहरुमा दोस्रो डिभिजन सिन्धुलीका सुकबहादुर रोका (राजेश) लगायत थिए । उनीहरुमाथि लागेको भ्रष्टाचारको आरोप’bout पार्टीले टुंगो नलगाउँदै कारवाही फुकुवाको कुनै जानकारी विनै महाधिवेशनमा सहभागी गराइएको हो । विगतमा पनि राजीनामा दिएको भन्दै उनीहरुले विस्तारित बैठकमा भाग लिएका थिए ।

सागर आफ्नै विरोधमा बोले

त्यसैगरी ६ नम्बर समूहका नेता चन्द्रबहादुर थापा (सागर)ले आफ्नैविरुद्ध परेको फरक मत हलमा प्रस्तुत गरेका छन् । थापाको समूहमा परेका अर्का वाइसिएल नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले सागरलाई एनजिओ चलाएको आरोप लगाएका थिए । ‘बेरोजगार युवा संघ’ खोलेर थापाले वाइसिएललाई एनजीओकरण गरेको भन्दै सापकोटाले सोमबार भएको समुहगत छलफलमा फरक मत जनाएपछि मंगलबार थापाले सापकोटाको भिन्न मत हललाई सुनाएका हुन् ।

विगतमा विप्लवले जनस्वयंसेवक दस्ता बनाएर वाइसिएललाई बाइपास गरेजस्तै थापाले बेरोजगार संघ बनाएर वाइसिएललाई बाइपास गरेको थापाले ६ नम्बर समूहको प्रस्तुतीमा बताएका थिए । cp. onlinrkhabar.com

Comments are closed.