मगर विद्यार्थी सङ्घ गण्डकीको तेस्रो अधिवेशन पुस ६ गते

पोखरा, १ पुस/नेपाल मगर विद्यार्थी सङ्घ गण्डकी अञ्चल समितिको तेस्रो अधिवेशन यही पुस ६ गते हुने भएको छ । समितिको शनिबार दमौलीमा बसेको बैठकले कास्कीको पोखरामा अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गोमबहादुर रानामगरले जानकारी दिनुभयो ।
सङ्घको आठौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गरेका बेला देशभरि अञ्चल, जिल्ला तथा क्याम्पस अधिवेशनलाई तीव्रता दिइएको छ । पोखरामा आगामी माघ १६ गतेदेखि १८ गतेसम्म हुने महाधिवेशनलाई सफल पार्नका लागि सङ्घले देशव्यापी संगठन विस्तार कार्यलाई समेत तीव्रता दिएको छ । लामो समयदेखि हुन नसकेको गण्डकी अञ्चल अधिवेशन अहिले हुन लागेको हो । सङ्घको विधानबमोजिम प्रत्येक दुई÷दुई वर्षमा गर्नुपर्ने अधिवेशन कार्य व्यस्तताका कारण भन्दै लामो समय रोकिएकोमा यसपाली हुन लागेको हो ।

‘जातीय पहिचान र आत्मनिर्णयको अधिकारसहितको समृद्ध मगरात स्थापनार्थ हाम्रो आन्दोलन, नयाँ संविधानमा वैज्ञानिक, व्यवहारिक र सङ्घीय शिक्षा प्रणालीको पक्षमा तेस्रो अञ्चल अधिवेशन’ भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशनमा गण्डकी अञ्चलभित्रका पाँच जिल्लाबाट जिल्लागत रूपमा पाँच÷पाँच जना प्रतिनिधि सहभागी हुने सचिव प्रेमबहादुर पुनमगरले जानकारी दिनुभयो । अधिवेशनको आन्तरिक व्यवस्थापनका लागि सङ्घको कास्की जिल्ला समितिले जिम्मेवारी पाएको छ । आफूहरू अधिवेशन तयारीमा जुटिसकेको र अधिवेशन ऐतिहासिक हुने कास्की जिल्ला अध्यक्ष सम्मर थापामगरले दाबी गर्नुभयो ।

यता, अधिवेशन तयारीका लागि कास्की जिल्ला समिति र गण्डकी अञ्चल समितिका पदाधिकारी तथा सदस्यबीच सोमबार छलफल समेत सम्पन्न भएको छ । छलफलमा सङ्घका निवर्तमान केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, अञ्चल समितिका सचिव प्रेमबहादुर पुनमगर, सदस्यद्वय मीना थापामगर र नारायण रानामगर सहभागी हुनुहुन्थ्यो भने कास्की जिल्ला समितिका अध्यक्ष थापामगरसहित उपाध्यक्ष प्रेम रोकामगर, सदस्यत्रय दलबहादुर दर्लामीमगर, दिनेश रोकामगर र दीपा थापामगर तथा जनप्रिय बहुमुखी क्याम्पस समितिकी सचिव सोनु थापामगरको समेत सहभागिता थियो ।

कमेन्टहरु
Loading...