एमाओवादी लोकतन्त्र समाप्त पार्न अग्रसर नेता– नेपाल, पत्रकार बास्तोला सम्मानित

पोखरा, २२ माघ/नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले लोकतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताएको छन् । प्रेस चौतारी नेपालको १४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कार २०६८ बाट पत्रकार हरि बास्तोला पोखरामा सम्मान गर्दै नेता नेपालले एकिकृत नेकपा माओवादी लोकतन्त्र समाप्त पार्न अग्रसर देखिएको आरोप लगाए । उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्न नदिएर गणतन्त्रलाई पनि एकिकृत नेकपा माओवादीले धरापमा पारेको आरोप थियो ।

उनले राष्ट्र र जनाताको पक्षमा मिसन पत्रकारिता गर्न पनि पत्रकारलाई आग्रह गरे । उनले कसैले धम्की दिदैमा विचलित नहुन पत्रकारलाई आग्रह गर्दै नेकपा एमाले प्रेस स्वतन्त्रता, लोकतन्त्र र परिर्वतनको पक्षमा रहेको दावी गरे । पत्रकारिताको माध्यमबाट प्रेस तथा लोकतान्त्रिक आन्दोलनका साथै प्रेस चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको कदरगर्दै बास्तोलालाई पुरस्कारबाट सम्मान गरेको हो । उनलाई नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोसल्ला ओढाइ नगद ११ हजार १ सय ११, सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व हरि बास्तोलाले पुरस्कारले आफुलाई थप उर्जा मिलेको बताउँदै पत्रकारिताको विकासमा लागिरहने बताए । २०५१ सालदेखि पत्रकारितामा क्रियाशिल बाँस्तोला राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय पोखरामा कार्यरत हुनुहुन्छ । राससले २०६१ सालमा उत्कृष्ट आलेख समाचार लेखेको भन्दै बास्तोलालाई सम्मान गरेको थियो । यसअघि पुरस्कारबाट माधव शर्मा, पुण्य पौडेल, नवराज सुवेदी र रुद्रबहादुर थापा सम्मानित भइसकेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकले ठुल्ठुला परिवर्तन भएपनि प्रेस स्वतन्त्राको ग्वारेण्टी नहुदाँ पत्रकार आन्दोलित हुनुपर्ने बाध्यता रहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले पेशागत मर्यादा कायम राखेर काम गर्न पत्रकारलाई आग्रह गरे । प्रेस चौतारीका कास्कीका अध्यक्ष श्यामनाथ कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शान्ति गुरुङ, कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, उपाध्यक्ष सन्तोष अधिकारी र सचिव माधव बरालले प्रेसका बारेमा बोलेका थिए ।

 

कमेन्टहरु
Loading...