हेमराज पहारी स्मृति पुरस्कार जोशीलाई

पोखरा, ४ फागुन । हेमराज पहारी स्मृति पुरस्कार–२०६९बाट संस्कृतिविद्, साहित्यकार सत्यमोहन जोशीलाई सम्मान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । यो वर्ष पहिलो पटक प्रदान गर्न लागिएको सो पुरस्कारको राशी नगद रु. एक लाख र ताम्रपत्र रहेको छ ।

यो पुरस्कार नेपाली साहित्य, संस्कृति, शिक्षा, समाजसेवा एवम् पर्यटन क्षेत्रमा राष्ट्रिय स्तरमा उल्लेखनिय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई दुई वर्षमा एक पटक प्रदान गर्ने गरिन्छ । पुरस्कृत व्यक्तित्व जोशी नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विज्ञ मानिन्छन् । उनले वि. स. २०१४,२०१७ २०२८ गरी तीन पटक मदन पुरस्कार पाईसकेका छन् ।वि. स. १९७७ मा ललितपुरको बंकुबहालमा जन्मिएका जोशी नेपाल प्रज्ञा प्रतिष्ठानका आजिबन सदस्य र नेपाल भाषा एकेडेमीका कुलपति छन् ।

साहित्य, संस्कृति, पुरातत्व, मूर्तिकला, मुद्रसम्बन्धी अध्ययन अनुसन्धान गरी उनले चार दर्जन भरी कृतिहरु लेखिरहेका छन् । उनलाई स्वर्गीय पहारीको तेस्रो वार्षिकीको दिन आगामी फागुन १८ गते एक समारोहका बिच सो पुरस्कार प्रदान गरिने बताइएको छ ।

साहित्यकार, समाजसेवी, शिक्षासेवी स्वर्गीय हेमराज पहारीको स्मृतिमा यो प्रतिष्ठान वि. स. २०६७ मा स्थापना भएको हो । वि. स. २००२ सालमा जन्मिएका पहारीको वि. स. २०६६मा सवारी दुर्घटनामा परी निधन भएको थियो । पहारीका उत्तरी गोलाद्धको एक फन्को नियात्रा संग्रह र देशको अभिभारा कविता संग्रह गरी दुई कृति प्रकाशित छन् ।

स्वर्गीय पहारीकी पत्नी रीता पहारीले व्यक्तिगत रुपमा रु १५ लाखको अक्षय कोष स्थापना गरी यो पुरस्कारको सञ्चालन गरेकी हुन । प्रतिष्ठानले पहारीका अप्रकाशित गीतहरुको संग्रह आगामी वर्ष प्रकाशन गर्दै प्रतिष्ठानकी अध्यक्ष रीता पहारीले जानकारी दिईन ।

कमेन्टहरु
Loading...