पूर्वराजाले हात जोड्दै भने- ‘छोराका लागि अझै प्रार्थना गरिदिनुहोस्’ (3 Votes)

कान्तिपुर संवाददाता
काठमाडौं, वैशाख ८ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको प्रार्थनाका कारण छोरा पारसको उपचार सफल भएको बताएका छन् । हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छोरा पारस भेटेर आइतबार फर्केका पूर्वराजाले भने, ‘अझै प्रार्थना गरिदिनुहोस्, छोरालाई राम्रो होस् ।’
exking

‘नेपाली जनता र थाई चिकित्सकको अथक प्रयासले छोराको स्वास्थ्यमा धेरै सुधार आउको छ, अझै केही न केही सुधार आवश्यक छ,’ हात जोड्दै त्रिभूवन विमानस्थलमा पूर्वराजाले भने, ‘नेपाली जनताको प्रार्थना, सदभावना र तपाईंहरु (पत्रकार)को जिज्ञासाले छोराको स्वास्थ्यमा सुधार आएको छ, प्रार्थना अझै गरिदिनुहोस् राम्रो होस् ।’

ज्ञानेन्द्रले पारस अझै केही दिन बैंककमै रहने जानकारी दिए । ‘मैले उसलाई रिहृयाब सेन्टरमा राखेर आएको छु,’ उनले भने, ‘अझै केही हप्ताका लागि बस्नुपर्छ ।’ नेपालमा राजतन्त्र अन्त्यपछि बैंकक बस्दै आएका पूर्वयुवराज पारस शाह गत फागुन ८ गते हृदयघात भएपछि अस्पताल भर्ना भएका थिए । पारसलाई हृदयघात हुँदा बाराको सिमरामामा रहेका पूर्वराजा फागुन १६ गते पत्नी कोमलसहित बैंकक गएका थिए ।

गम्भीर अवस्थाको हृदयघात भएका पारसको स्वास्थ्य सुधार भएको छ । यद्यपी उनी अहिले बैंककस्थित पुनःस्थापना केन्द्रमा छन् । पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनातिना पनि आइतबार नै थाई एयरबाट स्वदेश फर्किएका छन् । पूर्वराजाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा राजावादी उपस्थित थिए ।

कमेन्टहरु
Loading...