संस्कृति संरक्षणका लागि पोखरामा कलाकारको देउसी भैलो

सागर राज तिमिल्सिना
पोखरा, १७ कात्तिक/नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो घर–आँगनमा आइसकेको छ । विशेषगरी तिहारको रमाइलो पक्ष देउसी र भैलो खेल्ने पनि हो । कला र संंस्कृतिको जर्गेना गर्ने उद्देश्यले देउसी खेल्ने भए पनि आजकल कमाउ धन्दाको रुपमा पछिल्लो पिढीले लिने गरेका छन् ।

वास्तवमा भन्ने हो भने समूहमा मिलेर गाउने गीत हो देउसी र भैलो । यसमा एकजना भट्टाउने हुन्छ भने अन्य समूहका साथीहरुले देउसी अथवा भैलो भनेर भट्टाउनेलाई साथ दिने गर्छन् । खासगरी देउसी भैलोमार्फत् देउसी खेल्न गएका घरमा आशिष दिने तथा शुभकामना दिने गरिन्छ भने घरधनीले फलफूल, रोटी, दक्षिणा दिने गर्छन् ।

यो परम्परा विकृतिका कारण विस्तारै लोप हुने अवस्थामा पुगिसकेको छ । यसैक्रममा लोकदोहोरी प्रतिष्ठान अञ्चल कार्यसमिति र प्रतिष्ठानका जिल्ला समिति कास्कीले कलाकार सहयोगार्थ अक्षयकोष स्थापना गर्न मर्यादितरुपमा र सन्देशमुलक देउसी भैलो खेल्न सुरु गरेको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागीता रहेको छ ।

देउसी भैलोको नाममा पछिल्लो समय आएको विकृति रोक्न तथा यसको संरक्षणका लागि प्रतिष्ठानले सामूहिकरुपमा देउसी भैलो कार्यक्रम गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष जीवन दाहालले बताए । देउसी भैलोका गीत मार्फत् कलाकारहरुले मुलुकमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न होस् र मुलुकमा स्थायी शान्ति र संविधान बन्नुपर्ने सन्देश पनि दिने गरेका छन् ।

कमेन्टहरु
Loading...