कक्षा ११ को आंशिकतर्फको नतिजा सार्वजनिक, नियमित पछि

काठमाडौं, १८ मंसिर/राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तर्फको नतिजा सोमबार दिऊसो सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजाअनुसार आंशिकतर्फ ३५.५८ अर्थात ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा १ लाख १ हजार ३ सय ७५ जना सहभागी थिए।

स्थानीय तहको निर्वाचनका कारण परीक्षाको मिति पटक पटक सर्दै असारको १ बाट परीक्षा सञ्चालन भएको थियो।

परीक्षामा सहभागीमध्ये २१ जना विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय शुल्क तिरी १५ दिनभित्र आवेदन गर्न सक्नेछन् ।

गत वर्ष कक्षा ११ को आंशिकतर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। गत वर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए । नियमित तर्फको नतिजा चुनावपछि प्रकाशन हुने बोर्डले जनाएको छ।

कमेन्टहरु
Loading...